शिवप्रसाद ढुंगाना/ओखलढुंगा, १२ असोज । पूर्वी पहाडका चार जिल्ला हेर्ने गरी ओखलढुंगामा उच्च अदालत विराटनगरको अस्थायी इजलास शुरु भएको छ । सगरमाथा अञ्चल रहँदा अञ्चल पुनरावेदन अदालतको मुकाम रहेको ओखलढुंगामा उच्च अदालत स्थापना भएसँगै अस्थायी इजलासबाट काम शुरु भएको हो ।
दुई ओटा इजलास रहेको पुनरावेदन मुकाम ओखलढुंगालाई नै उच्च अदालतको मुकाम बनाउने सरकारी निर्णय सँगै अव ओखलढुंगाबाट खोटाङ, उदयपुर र सोलुखुम्बु समेतका पुनरावेदनको काम ओखलढुंगा इजलाशबाट सम्पादन हुने भएका हुन् । दुई इजलाशबाट न्याय सम्पादनको काम हुने रजिष्टार वेदप्रसाद उप्रेतीले बताए । उप्रेतीका अनुसार अहिले लिखित जवाफ, पुनरावेदन र १७ नम्बर निवेदन दर्ता भएका छन् ।
उदयपुरलाई ओखलढुंगा इजलास अन्तर्गत राख्न नहुने भन्दै उदयपुरमा आन्दोलन शुरु भएको समयमा उदयपुरबाटै पुनरावेदनको निवेदन १ नम्बरमा दर्ता भएको छ । निवेदकले सप्तरीको राजविराजभन्दा ओखलढुंगामा इजलास रहनु उचित हुने बताउँदै पुनरावेदन दर्ता गर्न आएको रजिष्टार उप्रेतीले जानकारी दिए ।
२०४९ सालमा अञ्चल पुनरावेदनको मुकाम स्थापना भइ ६ महिना इजलास चलेर बन्द भएको २३ वर्षपछि उच्च अदालतको इजलाश शुरु हुनु ओखलढुंगा तथा छिमेकी जिल्लाका सेवाग्राहीलाई सहज भएको नेपाल बार एसोसियसन जिल्ला बार इकाइका सदस्य अधिवक्ता गुरुबहादुर बस्नेतले बताए ।
उदयपुरबाट ओखलढुंगा इजलासको विरोध हुँदा नागरिकको तर्फबाट पुनरावेदन दर्ता हुनुले ओखलढुंगा इजलासको आवश्यकता पुष्टि भएको वस्नेतको भनाइ छ । ओखलढुंगामा यस अघि खोटाङ र सोलुखुम्बु जिल्लाकोे पुनरावेदन हेर्ने गरी मुकाम स्थापना भए पनि कार्य सम्पादन भने राजविराजबाटै हुने गरेको थियो ।
१२ आश्विन २०७३, बुधबार
7
Shares







