१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक



काठमाडौँ । राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उनकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा गए राति १ बजे निधन भएको छ ।
उनी विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेह रोगको नियमित उपचारमा थिए । केही दिनयतादेखि अलि असहज महसुस गर्दैआएका राई गए राती शौचालयबाट फर्केर सुतेलगत्तै निधन भएको व्याकुल माइलाले बताए । विसं २००४ साल असोजमा जन्मिएका स्वर्गीय राई २० वर्षसम्म अध्यापन गरेर सेवा निवृत्तपछि सामाजिक सेवामा संलग्न थिए । आर्दश र निष्ठावान व्यक्तिका धनी तथा सामाजिक जीवनमा सधैँ समर्पित स्वः राई गाविस अध्यक्ष तथा ओखलढुङ्गा जिल्ला विकास समितिको सदस्यसमेत भएका थिए ।
पिताको निधनको खबर सुनेलगत्तै ललितपुर तिखिदेवलमा बस्दै आएका व्याकुल माइला र उनकी धर्मपत्नी नानुकला राई शुक्रबार बिहानै ओखलढुङ्गातर्फ गएका छन् । स्वः राईको जातीय परम्पराअनुसार आजै ओखलढुङ्गामा अन्तिम संस्कार गरिने जनाइएको छ । स्वः राईका दुई श्रीमती र व्याकुल माइलासहित तीन छोरा छन् ।

प्रकाशित मिति : १३ पुस २०७५, शुक्रबार  ३ : २२ बजे