२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

सोलुखुम्बु सोताङबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार



सोलुखुम्बु । सोताङ गाउँपालिका–५ की एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोलु अस्पताल फाप्लुका प्रमुख चिकित्सक मिङ्मार छिरिङ शेर्पाको पहलमा बुधबार १८ वर्षीया लाफुटी शेर्पाको उद्धार गरिएको अस्पतालकी सूचना अधिकारी सानी शेर्पाले जानकारी दिए ।

कैलाश हेलिकप्टरमार्फत उद्धार गरिएको चिकित्सक शेर्पाले जानकारी दिए । गर्भवती शेर्पाले बुधबार ३ बजेर ४ मिनेटमा शल्यक्रियामार्फत तीन केजी सात ग्रामकी छोरीलाई जन्मदिएको डा. शेर्पाले बताए । चिकित्सक शेर्पाका अनुसार दुई घण्टामा शल्यक्रिया गर्नुपर्ने भए पनि तालीम प्राप्त स्वास्थ्यकर्मीको अभावका कारण ११ घण्टा लागेको थियो ।
आर्थिक अवस्था कमजोर र जटिल परिस्थितिमा नेपाल सरकारले निःशुल्क उद्धार गर्ने व्यवस्थाअनुरुप नै उद्धार गरिएको उनले बताए । शल्यक्रियापछि आमा र बच्चाको अवस्था सामान्य रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । योसँगै दुई महीनाको अवधिमा सोताङबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गर्नेको सङ्ख्या तीन पुगेको छ ।
पछिल्लो समय नेपाल सरकारले आर्थिक अवस्था कमजोर र जटिल अवस्थाको गर्भवती महिलालाई निःशुल्क उद्धार गर्ने नीतिको कारण भने यहाँका स्थानीयवासीले राहत महशुस गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार  २ : ४३ बजे