धानबालीमा रोग फैलिँदा किसान चिन्तित

0 Shares

भीमदत्तनगर, १३ भदौ । कञ्चनपुरमा धानबाली रोपेको छोटो समयमै विभिन्न प्रकारका रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन् ।

यहाँ खेती गरिएको अधिकांश धानबालीमा गबारो र पात बेरुवा रोग देखिएको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले जनाएको छ ।

माउ पुतली किराबाट लाग्ने रोगको सङ्क्रमण धानबालीमा फैलिँदै गएको छ । किसानले धानबालीमा पात सुक्न थालेका र बोटको बीचको भाग कुहिन थालेका पीडा जिल्ला कृषि विकास कार्यालयमा सुनाएका छन् ।

बागफाँटा, खैरभट्टी, वनकट्टी, ऐरी ओदालीका साथै जिल्लाको अन्नभण्डार मानिने दक्षिणी क्षेत्रमा समेत धानबालीमा रोग देखिएको छ ।

१० प्रतिशत धानबालीमा पात ओइलाउने समस्या देखिएको बताउँदै जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले सचेतना अपनाउन किसानलाई आग्रह समेत गर्नुभयो ।

उहाँले धानमा देखिने किरा नष्ट गर्ने घरेलु उपाय अपनाउन सक्ने भए पनि त्यसो नगरिएका कारण पनि बढी प्रकोप देखिएको बताउनुभयो ।

पुरानो बीउलाई नै निरन्तरता दिनुका साथै किसानले बीउको ख्याल नगर्दा यसप्रकारका रोग देखिएको उहाँको भनाइ छ । यस वर्ष जिल्लामा ४५ हजार हेक्टरभन्दा बढी खेतमा धानबाली लगाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार