जाजरकोट अस्पताल ः स्तरोन्नति भएपनि पूर्वाधार छैन

0 Shares

जाजरकोट, २० असोज । पचास श्ययामा रुपान्तरण भएको जाजरकोटको जिल्ला अस्पतालमा सामान्य उपचारका लागि जिल्लावासी उपचारका लागि हजाराँै खर्च गरेर जिल्ला बाहिर जानु नपर्ने हो । तर जाजरकोटको जिल्ला अस्पतालको अवस्था भने दैनिक खस्किँदै जाँदा बिरामीलाई सेवाभन्दा सास्ती बन्ने गरेको सेवाग्राही बताउँछन् ।

पचास श्ययाको अस्पतालका लागि ६० भन्दा बढी कोठा भएको भवनको आवश्यक पर्छ । पन्ध्र श्ययाबाट स्तरोन्नति गरी सरकारले गत जेठमा अस्पताललाई ५० श्ययाको बनाएको हो । पचास श्ययाको यस अस्पतालमा न त भवन छन् न त विशेषज्ञ चिकित्सक नै । यस अस्पतालमा बिरामी सुताउने, सुत्केरी गराउने, ब्लड बैंक सञ्चालन गर्ने र चिकित्सकले जाँच गर्नेलगायत अति आवश्यक पूर्वाधारसमेत नहुँदा सञ्चालनमा समस्या भएको छ ।

अस्पतालमा बिरामी जाँच गर्ने, भण्डार, प्रयोगशाला, औषधि वितरण कक्ष, बिरामी सुताउने, कोलचिङ, इमर्जेन्सी, एक्स–रे, भिडिओ एक्स–रे, प्रशासन, मातृशिशु, क्षयकुष्ठ, पोषणलगायत कार्य सञ्चालन गर्न १७ कोठा मात्र छन् । विसं २०३७ मा निर्माण भएका पुराना तथा जीर्ण भवनमा १५ श्ययाका लागि बनाइएका हुन् ।

अस्पतालको स्तरवृद्धिसँगै बिरामी जाँचका लागि मात्र १५ कोठाको आवश्यकता पर्छ । हाल एउटा कोठामा बिरामीको जाँच हुने गरेको छ । यस अस्पतालमा जिल्ला स्वास्थ्य र जिल्ला जनस्वास्थ्य कार्यालय एकै ठाउँमा सञ्चालित छन् । जनस्वास्थ्यको भवन अलग्गै ठाउँमा हुनुपर्ने व्यवस्था भएपनि जाजरकोटमा दुवै कार्यालय एकै ठाउँमा रहेका छन् । यसबाट अस्पतालले प्रवाह गर्ने सेवामा समेत समस्या पारेको छ ।

आवश्यक भवनको अभावमा ५० श्यया अस्पतालका आएका सामान त्यत्तिकै बन्द कोठामा थन्किएको छ । भवन अभावमा श्यया राख्ने ठाउँ नभएर पाँच महिनादेखि सामान एउटामा कोठा थन्किएको अस्पतालका निमित्त अस्पताल प्रमुख डा चाँदनी जैसवालले बताउनुभयो ।

कोठा नहुँदा ३० बिरामीको श्यया र ब्लड बैंकका सामग्री त्यत्तिकै थन्किएका छन् । जनस्वास्थ्य कार्यालयको भवनको पाँच वर्षदेखि निर्माण पूरा भएको छैन भने अस्पतालकै सुरक्षित मातृत्व भवन निर्माण सुरु भएको छ वर्ष बित्दा पनि जगसमेत पूरा नभएर निर्माणस्थलमा रुखबिरुवा उम्रेका छन् । बन्न थालेका भवन नै निर्माण नभएर अलपत्र अवस्था छन् । यसले गर्दा पनि ५० श्यया अस्पतालबाट दिनुपर्ने सेवा प्रवाहमा समस्या पारेको जैसवालको भनाइ छ ।

जिल्लामा बिरामीलाई पटक पटक रगतको आवश्यकता पर्छ । अस्पतालमा ब्लड बैंक सञ्चालनका लागि कोठा नै छैन । ब्लड बैंकको सामग्री आएको पाँच महिना बितिसक्यो ।

त्यसैगरी, जिल्ला अस्पतालको स्तर वृद्धिसँगै नौ विशेषज्ञ चिकित्सक, चार मेडिकल अधिकृत र अनमी÷स्टाफ नर्स १२, सहायकस्तरका कर्मचारीसहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना भएको भन्दै स्वास्थ्य सेवा विभागले पत्र मात्र पठाएको छ । तर नौजना चिकित्सक अहिलेसम्म आएका छैनन् ।

सरकारले जिल्ला अस्पताललाई जाजरकोट अस्पताल बनाएको हो । अस्पतालको स्तर वृद्धि गरे पनि चिकित्सक र उपकरण पठाउनेतर्फ बेवास्ता भइआएको छ । अस्पतालमा ११औँ तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट एक, जनरल फिजिसियन एकजना, रेडियोलोजिस्ट विशेषज्ञ एकजना, हाडजोर्नी विशेषज्ञ एकजना, जनरल सर्जन एकजना, बालरोग विशेषज्ञ एकजना, स्त्रीरोग विशेषज्ञ एकजना, मानसिक रोग विशेषज्ञ एकजना र एनेस्थेसियासमेत नौ वरिष्ठ फिजियोथेरापिस्ट एक, नर्सिङ अधिकृत, ल्याब टेक्नोलोजिस्ट, मेडिकल रेकर्डर, स्टाफ नर्स, स्वास्थ्य सहायक, फर्मासिस्ट विशेषज्ञ चिकित्सकसहित ५० दरबन्दीको व्यवस्था छ ।

चार मेडिकल अधिकृत एक डेन्टल सर्जन गरी पाँचजना चिकित्सकको भरमा अहिले जिल्लामा सबै काम गर्नुपर्ने बाध्यता छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार