आठौं राष्ट्रिय खेलकुद : १३०७ उपाधिका लागि ५२११ खेलाडी भिड्दै

98 Shares

काठमाडौं । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न ५ खेलका प्रतिस्पर्धा बुधबारदेखि शुरु हुँदैछ । आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन वैशाख ५ गते हुने भए पनि ५ वटा खेल भने पूर्व निर्धा्रित तालिका अनुसार बुधबारदैखि नै हुन लागेको हो ।
वृहत राष्ट्रिय खेलकुदको पहिलो, दोस्रो र तेस्रो संस्करणबाहेक दुई वर्षको अन्तरालमा पहिलोपटक राष्ट्रिय खेलकुद हुन लागेको हो । खेलको उद्घाटन र समापन दुवै प्रदेश ५ को नेपालगञ्ज रंगशालामा हुने कार्यक्रम छ । समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुनेछन् । ३ सय ७२ स्वर्ण, त्यत्ति नै रजत र ५ सय ६३ कांस्यका लागि भिडन्त हुने आयोजकले जनाएको छ ।

बुधबारदेखि शुरु हुने ५ वटा खेलमध्ये ४ वटा खेलको प्रतिस्पर्धा प्रदेश ५ मा हुँदैछन् । बुटवलको देवीनगरमा लनटेनिस, दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगञ्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की र ललितपुरको सातदोबाटोमा स्क्वास खेल हुनेछन् । महिला हक्की भने नेपालगञ्जको खजुरास्थित शुक्र माविमा चैत ३० गतेदेखि शुरु हुनेछ । उद्घाटन अघि यी पाँच खेलसहित विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ ।
बुधबार हुने खेल बाहेक बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराँते, साइक्लिङ, फेन्सिङ र गल्फ वैशाख ५ अघि नै सकिने छ । आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् । वृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलोपटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी हुँदैछ । बुटवलमा हुने लनटेनिसमा प्रदेश ३, ४, ५, आर्मी, एपीएफ र एनआरएनबाट खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष÷महिला सिंगल्स, डबल्स र टिम तथा मिक्स डबल्स गरी ७ स्पर्धामा भिडन्त हुनेछ । चैत २ गतेसम्म चल्ने प्रतियोगतामा २८ पुरुष र १५ महिला खेलाडीले सहभागिता जनाउने छन् । त्यसमा एनआरएनएबाट ३ पुरुष खेलाडी संरक्षक भूषण वज्राचार्य र अमृत पौडेल (दुवै अस्ट्रेलिया) तथा दावा शेर्पा (थाइल्यान्ड) ले प्रतिस्पर्धा गर्नेछन् ।
स्क्वासमा प्रदेश १, २, ३, ४, ५, नेपाल प्रहरी र एपीएफ क्लबबाट २४ पुरुष र ५ महिला गरी २९ खेलाडीको सहभागिता रहने छ । पुरुष÷महिला सिंगल्स तथा पुरुष टिम इभेन्ट गरी ३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता वैशाख २ गते सम्पन्न हुनेछ । हक्कीको पुरुषमा सातै प्रदेश, डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र प्रहरीसहित ९ टिमले भाग लिने छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । फाइनल वैशाख ४ गते हुनेछ ।
महिला हक्की भने चैत ३० गतेदेखि नेपालगञ्जको खजुरास्थित शुक्र माविमा हुनेछ । सहभागी ६ टिमले दुई समूहमा रहेर लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमहरुमा प्रदेश १, २, ३, ४ र ७ तथा आर्मी छन् । सातौं राष्ट्रियमा प्रदेश ७ च्याम्पियन बनेको थियो । फाइनल वैशाख ५ गते हुनेछ । कुस्तीमा पुरुष÷महिलातर्फ समान १०–१० गरी २० स्पर्धामा खेल हुनेछ । सातै प्रदेश र दुई विभागीय (आर्मी÷प्रहरी) गरी ९ टिमले भाग लिनेछन् । टेबलटेनिसमा सात प्रदेश, तीन विभागीय (आर्मी÷प्रहरी÷एपीएफ) बाट १ सय २० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष÷महिला सिंगल्स, डबल्स र टिम तथा मिक्स डबल्स गरी ७ स्पर्धा समावेश छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार