किराँत राजालाई हराएपछि लिच्छविहरूले चलाएको ’राजनीतिक जात्रा’

Facebook Debugger

काठमाडौं । ‘रथस दोङा बिज्याक पिथ या दथिसं, यवसिङ थाङा थल जुत पिरतिसं,लख मोल ल्हुल चुपिंगालया खुसिसं, लिथे त ख त ल्वात गालया हितिसं, बसंत म्हेतले भईरव जगदिसं, ल्हाकम्हया गति मदु छि छम्हा वाहिकं,’ यो भक्तपुरको सबभन्दा ठूलो जात्रा बिस्काःको एउटा गीत हो । बुधबार जात्रा सुरु हुने क्रममा ‘पुरानो दाफा खलः’ का बाहरू यही गीत गाउँदै थिए ।

खलःका नाइके रामप्रसाद भेलेका अनुसार गीतले जात्रामा रथ कहाँ–कहाँ पुग्छ भन्ने कथा भन्छ । यो गीतझैं बिस्काःका टुक्रा–टुक्रा कथा अन्य गीतमा पनि छन् । यो समय भक्तपुरमा बिस्काःकै गीत मात्रै गाइन्न । एक मल्लकालीन गीतमा राजा पृथ्वीनारायण शाहले रणजित मल्लको समयमा भक्तपुर आक्रमण गर्दाको प्रसंग वर्णन गरिएको छ । यसबाहेक ऋतुअनुसारका गीत पनि गाइन्छ । कुनैमा भैरवनाथ र बिस्काःका कथा जोडिन्छन् । ‘हामी ऋतुअनुसारका गीत गाउँछौं । गीतको लय ऋतुअनुसार फरक हुन्छ,’ खलः नाइके भेलेले भने, ‘बिस्काःको समयमा गाइने गीतलाई हामी नेवाः भाषामा घाटु भन्छौं । फागु शुक्ल पूर्णिमा सकिएदेखि नै भक्तपुरका दाफामा यस्तै गीत गुञ्जन्छन् । बिस्काःपछि गीत फेरिन्छन् ।’ टौमडीमा भैरवनाथको रथ यात्रा सुरु भएसँगै ‘बिस्का’ जात्रा प्रारम्भ हुन्छ । यसपटक भैरवनाथको रथ तानेर पूर्वमा बुलुबुलु हिटी, सुकुलढोकासम्म र पश्चिममा नासमनासम्म लग्ने सीमा निर्धारण गरिएको छ ।
आठ रात नौ दिनसम्म चल्ने यो जात्रामा वर्षको अन्तिम दिन बेलुकी ल्योसिङ खलस्मा यःसिं (लिंगो) उठाइन्छ भने वैशाख १ गते ढालिन्छ । वैशाख ५ गते आ–आफ्नो मन्दिरमा भैरव र भद्रकाली पुगेपछि जात्रा सकिन्छ । यसबीच भक्तपुरमा रहेका अष्टमातृका, भैरव र गणेश मन्दिर रहेका स्थानमा छुट्टाछुटै जात्रा हुन्छन् । संस्कृतिविद् ओम धौभडेलका अनुसार बिस्काः जात्रा लिच्छवीकालीन हो । यो जात्रा किराँतीलाई पराजित गरेपछि लिच्छवीहरूले मनाएको मानिन्छ । पछि मल्ल राजाहरु विश्व, जगज्योर्ति, रणजित लगायतले यो जात्रा विकसित गर्दै अहिलेको स्वरूपमा ल्याएको धौभडेल बताउँछन् । जात्रामा तीनतले भैरवको रथसँगै ‘होट्से–हैसे’ गर्दै तानातान गरिरहेको दृश्य सधैंझैं केन्द्रविन्दुमा रहन्छ । भैरवकै बहान मानिने बेताल पनि यो वर्षको मुख्य आकर्षण हो । यसलाई करिब ३० वर्षपछि दाता नारायणप्रसाद खाइजुले निर्माण गरेका हुन् ।
‘पुरानो बेताल इनाचोको घरमा ठोक्किएर बिग्रिएको थियो । पूजा गर्ने क्रममा निधारमा प्वाल परेको थियो,’ खाइजुले भने, ‘भैरवका नाइकेहरूले मलाई बनाउने जिम्मा दिएपछि भगवानका लागि काम गर्न पाएँ ।’ बेताल भैरवको अगाडि बस्छन् । नयाँ बेताललाई यही चैत २३ गते प्राण–प्रतिस्थापन गरिएको थियो । संस्कृतिविद् धौभडेलका अनुसार भैरवका बहान मानिने बेताल मानन्धर समुदायका साना बालक हुन् । त्यसैले सानो बालककै स्वरुपमा निर्माण गरिन्छ । बेताललाई बोक्ने पनि मानन्धर समुदायकै हुन्छन् । किम्बदन्तीअनुसार पाचँतले मन्दिर नजिकै रहेको पुः बहाः (पुजारीको बहाल) मा बेतालले उपद्रो गरेर दुःख दिन्थ्यो । ढोकाबाट नपसेर झ्यालबाट पस्थ्यो । पकाइरहेको भात पल्टाइदिन्थ्यो । कहिले सुतिरहेको मानिसको गालामा हान्थ्यो । तै भैरवको पक्षमा भने राम्रो काम गर्थ्यो ।
भैरवको रथ पूरै चुकुलले बनेको हुन्छ । एकपटक एउटा चुकुल हराएर सिकर्मीलाई आपत परेछ,’ धौभडेलले भने, ‘पछि त्यो चुकुल एउटा केटाले खोजेर ल्याएछ । बुझ्दै जाँदा त्यो केटा बेताल रहेछ ।’ धौभडेलका अनुसार पाचँतले मन्दिरको गजुरसमेत बेतालले हालेको थियो । त्यस्तै, एकपटक काठमाडौंका राजा प्रताप मल्ल र ललितपुरका श्रीनिवास मल्लले भक्तपुरमा जात्रा गर्न नदिने भनेर आक्रमण गरे । जात्रै नहुने छाँट देखेपछि स्थानीय दुःखी भए । त्यो बेला बेतालले एउटै औंलाले रथ तानेर जात्रा सम्पन्न गरेको कहावत छ । ‘बिस्काःभरि बाटामा उट्पट्याङ गर्ने बच्चा देख्यो भने मानिसहरूले उसलाई गाली गर्दैनन् । त्यो भगवान भैरवकै बहान बेताल हुन् भन्ने मान्यता छ,’ धौभडेलले भने । नयाँ बेतालका दाता खाइजुका अनुसार बेताल तामाको पाता, अष्तधातु र ब्रह्म सीः काठले बनाइन्छ । बेताल बनाउन चाहिने ब्रह्म सीः काठ भक्तपुरकै भोटेबहालबाट ल्याइन्छ । यसपटकको बेताललाई क्षति हुन नदिन पहिलेभन्दा धेरै तहमा निर्माण गरिएको उनले बताए ।

धौभडेलका अनुसार पुः बहाः मा बेताल चोक (बेतः चुकः) छ । बेतालले दुःख दिएपछि त्यो घर करिब १ सय ५० वर्षअघि लिलामीमा बेचिएको थियो । घर बेचे पनि चोक भने बेताललाई दिनुपर्छ भनेर छुट्याइयो । त्यही चोकमा नयाँ बेताल निर्माण गरिनुपर्छ । यसपटक भने कारणवश खाइजुकै घरमा निर्माण गरिएको हो । बेतः चुकः मा सिकर्मीले बोका काटेर पूजा गरेपछि मात्रै नयाँ बेताल बनाउन पाइन्छ । बेताल तयार भएपछि फेरि बोका काटेर पूजा गरिन्छ । अन्तिममा आँखा खोलेर प्राण(प्रतिस्थान गर्ने समयमा पनि बोका काटेर पूजा गर्ने परम्परा छ । धौभडेलका अनुसार बिस्काः जात्रा रमाइलोभन्दा बढी राजनीतिक जात्रा हो । एउटा वंशको पतन र अर्कोको उदयका रूपमा यो जात्रालाई लिइने उनले जानकारी दिए । ‘भक्तपुर पहिले नेपालकै राजधानी थियो । यक्ष मल्लका माइला छोरा रत्न मल्लले पछि स्वतन्त्र राज्य बनायो । त्यसपछि इलाका छोटो हुँदै गयो,’ धौभडेलले भने, ‘भुवन मल्लले राज्य आफ्नो अधिनमा राख्न बिस्काः जात्रालाई अरू ठाउँमा पनि देखाउने क्रम जारी राखे । त्यसैले हामी साँखु, तौमडी, बोडे लगायत ठाउँमा पनि बिस्केट जात्रा मनाएको देख्छौं ।’
’भुपतिन्द्रले योसँगै नवदुर्गा नाच पनि ठाउँ–ठाउँमा देखाउन थाले। त्यसैले यो राजनीतिक जात्रा पनि हो,’ उनले भने । काठमाडौं, भक्तपुर र ललितपुरमा हामी भैरवका रथ देख्छौं । पहिले त्यस्ता रथ हुन्थेनन्, खट हुन्थे । धौभडेलका अनुसार सुरुसुरुमा रथहरू एकतले हुन्थे । मल्लराजा भुपतिन्द्रकै समयमा तीनतले रथ विकसित भयो । ‘बेलायतमा यस्तै रथमा प्रयोग हुने पांग्रा आविष्कारपछि औद्योगिक क्रान्ति भयो । हामीले भने हजारौं वर्षदेखि यी पांग्रालाई संस्कृति र जनजीवनसँग जोड्दै आएका छौं,’ उनले भने । बिस्काःमा भैरवसँगै भद्रकालीको रथ पनि हुन्छ । भ्रदकाली र भैरवलाई श्रीमान–श्रीमतीका रूपमा लिइन्छ । एकपटक भैरव र भद्रकालीको झगडा पर्छ । भैरवले श्रीमतीलाई फकाएपछि तौमडीमा उनीहरूको समागम हुन्छ । त्यसैले बिस्काःमा दुई रथ जुधाएर देखाउने चलन छ ।
यही खुसियालीमा फेरि ‘द्यः थाहा बिज्याकेगु’ भनेर दुवै देवता आ–आफ्नो मन्दिरमा जान्छन् र बिस्काः समापन हुन्छ । बिस्काः शब्द ‘बि स्यात ख्यात’ भन्ने शब्दबाट आएको हो । यसको अर्थ हो, सर्प मारेर झुन्ड्यायो । धौभडेलका अनुसार बिस्काःको यःसिं (लिंगो) मा झुन्ड्याइने ध्वजा त्यसैको रूप हो । सर्प मारिसकेपछि मनाइने जात्रा भएकाले भैरवको प्रतीक मानिने यःसिं ठ्ड्याउनुअघि टुप्पोमा नाग र नागिनीको प्रतीकस्वरुप दुईवटा ध्वजा बाँधिन्छ र अष्टमातृकाका प्रतीक आठवटा डोरीले तानेर लिंगो उठाउने चलन छ । ‘बिस्काः मा रथ यात्रा, जिब्रो छेड्ने लगायत विभिन्न परम्परा हुन्छन् । खासमा भने लिंगो ठड्याउने र ढाल्ने मात्रै मूल परम्परा हो,’ धौभडेलले भने ।

Published On:  507पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार