जेठ दोस्रो साता स्ववियु चुनाव गर्न प्रस्ताव

7 Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ दोस्रो साता स्ववियु निर्वाचन प्रस्ताव गरेको छ । यसअघि फागुन १४ गते हुने भनिएको स्ववियु चुनाव हुन नसकेपछि नयाँ मिति प्रस्ताव गरिएको हो ।

बिहीबार केन्द्रीय स्ववियु निर्वाचन समन्वय समितिले विद्यार्थी संगठनहरुसँग संयुक्त छलफल गरेको थियो । छलफलमा समिति अध्यक्ष एवम् त्रिभुवन विश्वविद्यालयकी रेक्टर प्रा.डा. सुधा त्रिपाठीले परीक्षा लगायतका कार्यक्रम नभएकाले जेठ दोस्रो साता स्ववियु निर्वाचन गर्नु उपयुक्त हुने बताएकी थिइन् । साथै उनले निर्वाचनका लागि विश्वविद्यालयलाई सबै विद्यार्थी संगठनहरुको साथ र समर्थन चाहिएको पनि बताइन् ।
बैठकमा नेविसंघका प्रतिनिधि कोही पनि उपस्थित नभएकाले ठोस मिति घोषणा भने भएन । नेविसंघ कार्यसमिति हाल भंग भएकाले बैठकमा प्रतिनिधित्व नभएको हो । बैठकमा नेकपा सम्बद्ध अनेरास्ववियु र अनेरास्ववियू अखिल (क्रान्तिकारी) तथा मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका नेताहरु सहभागी थिए ।
यसैगरी नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियन, संघीय समाजवादी फोरम निकट समाजवादी विद्यार्थी फोरम, राजपा निकट विद्यार्थी संगठन, नेमकिपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघ, राप्रपा निकट राप्रविसं, राप्रपा संयुक्त निकट राप्रविसं (संयुक्त), आदिवासी जनजाति विद्यार्थी महासंघ र नेपाल प्रगतिशिल विद्यार्थी युनियनका प्रतिनिधि बैठकमा सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार