सहकारीमा डेढ अर्ब बढी लगानी

0 Shares

इलाम, २१ असोज । मेची अञ्चलका इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालित सहकारी संस्थाले रू एक अर्ब ५२ करोड ९६ लाख ७५ हजार ऋण लगानी गरेका छन् ।

डिभिजन सहकारी कार्यालयका अनुसार व्यवसाय सञ्चालका लागि इलामका पाँचसय २८ सहकारी संस्थाले रू एक अर्ब दुई करोड ६३ लाख ८१ हजार लगानी गरेका छन् । यस्तै पाँचथरका २३८ सहकारीले रू ३४ करोड १० लाख २३ हजार र ताप्लेजुङका १६१ सहकारीले रू १६ करोड २२ लाख ६९ हजार लगानी गरेका डिभिजन सहकारी कार्यालयका प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

ऋण लगानीसहित तीनै जिल्लाका सहकारी संस्थामा हालसम्ममा रू एक अर्ब एक करोड ३५ लाख ७२ हजार बचत छ । दुग्ध, बचत तथा ऋण, बहुद्देश्यीय, विद्युत्, कृषि, चियालगायतका सहकारी संस्थामा बचत गर्ने बानीको विकास हुँदै गएको छ । सहकारीमा बचत भएको रकम व्यापार, कृषि, पशुपालन, जग्गा, साना उद्योगलगायतका क्षेत्रमा लगानी हुने गरेको छ ।

लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, वित्तीय प्रगतिजस्ता क्षेत्रमा सहकारी संस्थाले ठूलो योगदान पु¥याएको श्रेष्ठको भनाइ छ । “ग्रामीण अर्थतन्त्रको बलियो आधार सहकारी बन्दै गएको छ,” उहाँले भन्नुभयो । बैंक तथा अन्य वित्तीय संस्था भन्दा सहकारीले सस्तो ब्याजमा ऋण लगानी गर्ने भएकाले दिनप्रतिदिन सहकारीमा आकर्षण बढ्दै गएको हो ।

सहकारी संस्थालाई दिगो रूपले सञ्चालन गरिराख्नका लागि संस्थाले आम्दानीको निश्चित रकम जगेडा कोषमा राख्ने गरेका छन् । इलाम, पाँचथर र ताप्लेजुङका करिब एक हजार सहकारीले रु १७ करोड ६६ लाख २१ हजारको कोष खडा गरेका छन् । कोषमा इलामका सहकारीले रू ११ करोड २० लाख ५० हजार, पाँचथरका सहकारीले रू तीन करोड ५० लाख ७३ हजार र ताप्लेजुङका सहकारीले रू दुई करोड ९४ लाख ९७ हजार जम्मा गरेका बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार