‘भ्रष्टाचारविरुद्ध लड्न सहज छैन, कब्जा गरिएका सरकारी जग्गा फिर्ता गराइन्छ’ : प्रधानमन्त्री

105 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरु सबै फिर्ता गरिने बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा नै भूमाफियाहरुले बेचेको खुलासा भएको बेला प्रधानमन्त्री ओलीले राज्यको सम्पत्तिमाथिको अनधिकृत दोहनलाई छुट नदिइने बताए । यद्यपि भ्रष्टाचारविरुद्ध लड्न सहज नभएको बताउँदै उनले यसलाई उन्मूलन गर्न लामो समय लाग्न सक्ने पनि बताए ।

नयाँ वर्षमा बालुवाटार निवासबाट देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तर जुनसुकै मूल्य चुकाएर भए पनि भ्रष्टाचारलाई उन्मुलन गरीछाड्ने अभियानमा म प्रतिबद्ध छु ।’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा आफू नेतृत्वको सरकारका उपलब्धीबारे चर्चा गरेका थिए । उनले पूर्वप्राथमिक शिक्षामा नेपालको विद्यार्थी भर्नादर ८६ प्रतिशत रहेको र यो विश्वमै अगाडि भएको उल्लेख गरे ।
लगानीको लागि भरपर्दो वातावरण हेरी हालै सम्पन्न लगानी सम्मेलनमा उपस्थित अन्तराष्ट्रिय वित्तीय संस्थाका अधिकारीहरुले नेपाललाई दक्षिण एशियाको उदाउँदो अर्थतन्त्र (राइजिङ्ग स्टार) भनेको र विश्वका विभिन्न मुलुकले नेपालको शान्ति प्रक्रिया र प्रतिस्पर्धामा आधारित हाम्रो सहभागितामूलक शासन पद्दतिलाई प्रेरणादायी र अनुकरणीय मानेको प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीले समृद्धिको अर्को पूर्वसर्त शान्ति हो भन्दै मुलुकबाट पृथकतावाद अन्त्य भएको दावी गरे । ‘अलग देश, अलग राष्ट्रिय झण्डा, अलग राष्ट्रिय गान र अलक संविधानको अभियान चलाउँदै आएको समूहले नेपालको संविधानअनुरुप राजनीतिक क्रियाकलपामा सहभागी हुनु सामान्य विषय होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘यससँगै मुलुकबाट पृथकतावादको अन्त्य भएको छ भन्ने सुनाउन पाउँदा सन्तोष अनुभव गरिरहेको छु ।’
उनले विप्लव समूहप्रति संकेत गर्दै त्यसको गतिविधि नियन्त्रण गर्न राष्ट्रिय अभियान नै चलाइएको जानकारी दिए । नेपालमा हिंसाको दुष्चक्र स्वीकार्य नहुने ओलीले बताए । प्रधानमन्त्री ओलीले भने, ‘सबैखाले अतिवाद, अशान्ति र गडबडीबाट मुलुकलाई छिट्टै मुक्त गराइने छ । लामो द्वन्द्व र संक्रमणकाल अन्त्य गरेर बल्ल स्थायीत्वको बाटोमा हिँड्न लागेको मुलुकमा अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य हुन सक्दैन ।’ उनले अगाडि भने, ‘अहिले बिभिन्न आवरणमा सुरु गर्न लागिएको हिंसा, अतिवाद र त्यसमाथि आधारित आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने राष्ट्रिय अभियान सुरु भएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार