अर्घाखाँची, २१ असोज । दुई वर्षअघिसम्म तरकारीमा रासायनिक मल र विषादी प्रयोग गर्ने किमडाँडाका मधु बन्जाडे अहिले त्यसको प्रयोग गर्न छाडेका छन् ।
रासायनिक मल र विषादीको प्रयोग गरी उत्पादन गरिएका तरकारी खाँदा मानिसको स्वास्थ्यमा असर गर्छ भन्ने थाहा पाएपछि विषादीको प्रयोग गर्न छाडेको उहाँ बताउनुहुन्छ । अहिले बन्जाडेले गोबर मल, कम्पोस्ट मल र विषादीको सट्टा गाईभैँसीको गहुँतमा पानी राखेर बिरुवामा छरेर खेती गर्दैआउनुभएको छ ।
गोठमा भकारो सुधार गरी भैँसीको गहुँत सङ्कलन गरी ट्याङ्कीमा जम्मा गरी पानी मिसाई बिरुवामा राख्ने गरेको बन्जाडेले बताउनुभयो । उहाँले अहिले काउली, साग, बन्दागोभी, सिमी, बोडी, गोलभेँडालगायत तरकारी उत्पादन गरिरहनुभएको छ । “तरकारी असाध्यै फष्टाएको छ,” उहाँले भन्नुभयो ।

यस्तै दुई वर्ष पहिले डोडखोलाका सूर्य आचार्यलाई पनि गाईको गहुँत प्रयोग गर्दा उत्पादनमा वृद्धि हुन्छ भन्ने थाहा थिएन । तर अहिले उहाँले दैनिक गहुँत सङ्कलन गरी खेतमा हाल्ने गर्नुभएको छ । गहुँत सङ्कलन गर्न ट्याङ्की राखिएको छ । “गहुँत एक थोपा पनि खेर जान दिएका छैनौँ,” उहाँले भन्नुभयो ।
उहाँले दिनहँु तीन लिटर पानीमा एक लिटर गहुँत मिसाएर बारीमा हाल्ने गर्नुहुन्छ । “गहुँतको प्रयोगले दोब्बर उत्पादन भएको छ,” आचार्यले भन्नुभयो । किमडाँडा र धरम्पानीका ६० घर परिवारले आजभोलि गोबर मल, कम्पोस्ट मल, कुखुराको मल र गाईभैँसीको गहुँत प्रयोग गरी तरकारी खेती गर्दै आएका छन् ।
जिल्ला कृषि विकास र जिल्ला पशुसेवा कार्यालयले कृषकलाई गोबर मल, कम्पोस्ट मल र गहुँत प्रयोग गरी तरकारी खेती गर्न सिकाएको हो । जिल्ला कृषि विकास कार्यालयका प्रमुख योगप्रसाद खरेल रासायनिक मल र गोबर मलभन्दा गहुँतको बढी महत्व रहेको बताउनुहुन्छ । “गहुँतमा नाइट्रोजनको मात्रा बढी हुन्छ, यसमा विभिन्न रोगका किटाणु मार्ने शक्ति रहेको हुँदा खेतीपातीमा रोग लाग्दैन,” उहाँले भन्नुभयो ।







