ढलान गर्दागर्दै पक्की पुल भत्कियो, ठेकेदारसहित ५ जना घाइते

Facebook Debugger

गुल्मी । गुल्मीको बडीगाड खोलामा ढलान भइरहेको पक्की पुल भत्किदा पाँच जना घाइते भएका छन् । गुल्मीको मुसिकोट नगरपालिकाका ३ र ७ वडा जोड्ने झेर्दीको पुल आइतबार साँझ भत्किएको हो ।

पुल भत्किएपछि च्यापिएर पुलका ठेकेदार ऋषिराम इटानी गम्भीर घाइतेसहित ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए । घाइते हुनेहरूमा मुसिकोट नगरपालिका–३ का २३ वर्षीय रामबहादुर कुमाल, ३३ वर्षीय गणेश कुमाल, वडा नम्बर ४ का ५१ वर्षीय रूद्रबहादुर कार्की र बाग्लुङको बडीगाढ गाउँपालिका ७ का जेसिवी चालक तुलबहादुर राना छन् । वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले निर्माण गर्दै गरेको ५५ मिटर लामो पुल बडीगाड खोलामा आएको बाढीले भत्काएको मुसिकोट नगरपालिकाका प्रवक्ता प्रकाश काफ्लेले जानकारी दिए ।
तर पुल र खोलाको अवस्था हेर्दा पुल बाढीले नभई कमजोर संरचनाका कारण भत्किएको हुनसक्ने स्थानीयले बताएका छन् । ‘पछिल्लो केही दिन यता पानी नपरेको र खोलामा पानीको सतह पनि ठूलो छैन,’ नगरपालिकाका उपप्रमुख कमला गौतमले भनिन्,‘पुल बाढीले नभई संरचना कमजोर भएर भत्किएको हो। त्यसपछि खोलाको पानीले बगायो ।’ पुलको दुई दिनअघिमात्र ढलान गरिएको थियो । ०७३ सालमा सम्झौता भएर गत वर्षदेखि पुल बनाउने काम भइरहेको थियो । पुल बनाउन तीन करोडभन्दा बढी रकम खर्च भएको छ ।

Published On:  91पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार