गण्डकी प्रदेश सांसदको भत्ता बढ्यो, अब प्रति बैठक भत्ता १ हजार पाउने

Facebook Debugger

पोखरा । गण्डकी प्रदेश सभाका पदाधिकारी तथा सदस्यको बैठक भत्ता बढेको छ । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको परिश्रमिक र सेवा, सुविधासम्बन्धी ऐन २०७४ को अनुसूची संशोधन गरी बैठक भत्ता बढाउने आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

अब प्रदेशसभा सांसदले बैठक भत्ताबापत १ हजार रुपैयाँ पाउने भएका छन् । यसअघि बैठकभत्ता ७ सय ५० रुपैयाँ थियो । संविधानको धारा १ सय ९६ बमोजिम प्रदेश सभा पदाधिकारी तथा सदस्यको परिश्रमिक तथा सेवासम्बन्धी ऐन ०७४ वैशाख २४ गते प्रमाणित भएर कार्यान्वयनमा आएको थियो ।
‘मन्त्रिपरिषदको निर्णयले ऐनको हेरफेर गर्दै १ हजार रुपैयाँ पु¥याउने निर्णय गरिएको हो । यसको राजपत्रमा सूचना प्रकाशित भएसँगै लागू हुनेछ,’ सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । पोखरामा घर हुने प्रदेश सभाका पदाधिकारीलाई आवास सुविधा तथा मर्मतका लागि अरु जिल्लाको भन्दा आधार रकम दिने मन्त्रिपरिषदले निर्णय गरेको छ । अब पोखरा घर हुने सांसदले साढे ७ हजार रुपैयाँ आवास तथा मर्मत सुविधा पाउने छन् ।
यसैगरी दलका सचेतकले यसअघि गाडी प्राप्त नभइसकेको अवस्थामा प्राप्त नगरेको सुविधा बापतको रकम पनि उपलब्ध गराउने मन्त्रिपरिषदले निर्णय गरेको छ । सचेतकले सवारी सुविधा बापत मासिक १० हजार रुपैयाँ पाउँछन् । बैठकले पोखरा महानगरपालिकाको वडा नम्बर ३३ भरतपोखरीमा प्रदेश औद्योगिक ग्राम स्थापना गर्न आवश्यक ३२ सय रोपनी जग्गा उपलब्ध गराइदिन संघ सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, पोखरा महानगरपालिकासँगको सहकार्यमा एकीकृत फेवाताल संरक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । त्यसका लागि आवश्यक ३३ करोड ९० लाख रुपैयाँ महानगरपालिका र प्रदेश सरकारले आधा–आधा व्यहोर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

Published On:  89पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार