कांग्रेसको जागरण अभियान शुरु, वर-पिपल रोपेर उद्घाटन, १२ भाषामा जागरण गीत

Facebook Debugger

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजबाट राष्ट्रिय जागरण अभियान शुरु गर्ने भएको छ । सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि कांग्रेसले जागरण अभियान शुरु गर्न लागेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गरेका गलत काम–कारबाहीलाई जनतामाफ लैजान र पार्टी संगठनलाई थप सुदृढीकरण गर्न आजबाट जागरण अभियान शुरु गरिएको जानकारी दिए । अभियानमार्फत पार्टीको नीति, कार्यक्रम र संशोधित विधानबारे छलफल गर्ने उद्देश्य पनि कांग्रेसले राखेको छ ।
यसअघि कांग्रेसले वैशाख ११ बाट जागरण अभियान शुरु गर्ने तय गरेको थियो । तर पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएपछि निर्धारित कार्यक्रम स्थगित भएको थियो । ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको अभियान ३ चरणमा १ वर्षभरि देशभर चल्ने कांग्रेसले जनाएको छ । आजबाट शुरु हुने पहिलो चरणको अभियान १ महिना चल्नेछ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार, पहिलो चरणअन्तर्गत ७७ जिल्लामा अभियान सञ्चालन हुनेछ । दोस्रोमा ३ सय ३० प्रदेश र तेस्रोमा ७ सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गर्ने कांग्रेसको योजना छ ।
कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार, देशभर एउटै मोडलमा जागरण अभियान कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रम उद्घाटन पनि कांग्रेसले नयाँ तरिकाले गर्दैछ । स्वामी र बर–पिपलमध्ये १ विरुवा रोपेर कार्यक्रम उदघाटन गर्न सबै जिल्लामा कांग्रेसले सर्कुलर गरेको छ । त्यस्तै, जागरण अभियानमा बजाउन जागरण गीत तयार पारिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लेखेको गीत नेवारी, मैथिली, राई, भोजपुरीलगायतका १२ भाषामा तयार पारिएको हो ।
अभियानमा ३ वक्ताले आफ्नो धारणा राख्नेछन् । सबै कार्यक्रममा महिला वक्ता अनिवार्य गरिएको कांग्रेसले जनाएको छ । काठमाडौंमा जागरण अभियानको उद्घाटन मध्याह्न १२ः३० मा हुँदैछ । पार्टी सभापति शेरबहादुर देउवाले अभियानको उद्घाटन गर्ने तय भएको नेताहरुले बताएका छन् ।

Published On:  239पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार