२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

मनाङमा दसैँको प्रभाव न्यून



बेसीसहर, २७ असोज । देशैभरि महान् पर्व दसँैको रमझम चलिरहे पनि छिमेकी जिल्ला मनाङमा भने पर्वले खासै प्रभाव पारेको छैन । हिमालपारिको जिल्ला भनेर चिनिने मनाङमा अधिकांशले दसैँ नमान्ने भएकाले चहलपहल नभएको हो ।

मनाङमा बसोबास गर्नेमा अधिकांश लामा, घले र गुरुङ जातिका रहेकाले उनीहरुले दसैँभन्दा ल्होसारलाई बढी प्राथमिकता दिने गर्दछन् । कुल जनसङ्ख्याको २५ प्रतिशतले मात्र मनाङमा दसैँ मान्ने गरेको बताइन्छ ।

दसँै नमाने पनि मनाङवासीले दसँैमा बलि चढाइएका पशुको आत्मा शान्तिका निम्ति पूजा गरेका छन् । दसँैमा बलि चढाइएका पशुको आत्मा शान्तिका लागि चार दिनसम्म गुम्बामा पूजा गरिएको मनाङका स्थानीयवासी विनोद गुरुङले बताउनुभयो । “हामी दसँै मनाउँदैनाँै तर दसँैमा बलि चढाइएका पशुको आत्मा शान्तिका लागि पूजा गरेका छौँ”, गुरुङले भन्नुभयो, “मनाङ गुम्बामा लामा गुरुद्वारा चार दिनसम्म माने पूजा गरेका हाँै ।”

मनाङको कुल १३ गाविसमध्ये तिल्चे, नाचै, ताल, थोचें, घेलानचोक, ओडार र थान्चोक गाउँका बासिन्दाले दसैँ पर्व मनाउँछन् भने अन्यले ल्होसार मान्ने गर्दछन् । तर दसैँलाई परम्परादेखि नै ठूलो पर्वका रुपमा लिइएको हुनाले ल्होसार मान्नेले पनि दसैँ मान्ने र दसैँ मान्नेले पनि ल्होसार मान्ने गर्दछन् । उपल्लो मनाङमा दसैँले खासै प्रभाव नपारे पनि सदरमुकाम चामे, बगरछाप लगायतका स्थानमा भने हर्षोल्लासका साथ दसैँ मनाउने गरिन्छ । मनाङमा यतिबेला पर्यटकको चाप बढी रहेको हुँदा स्थानीयवासी दसँैभन्दा व्यवसायमा केन्द्रित रहेका छन् ।

दसैँलाई महत्व नदिए पनि लामो बिदा रहेकाले सहरबजारमा रहेका मनाङ्गी गाउँमा फर्किएका छन् । केही समयपछि जाडो बढ्दा पुनः अन्यत्रै जानुपर्ने भएकाले भेटघाट तथा मनोरञ्जनका लागि मनाङ्गीका लागि यो समय निकै राम्रो मानिन्छ । रासस
––––

प्रकाशित मिति : २७ आश्विन २०७३, बिहिबार  ४ : २६ बजे