पीडितको गुनासो अन्तरजातीय विवाह गर्दा खानेपानीबाट वञ्चित

Facebook Debugger

मोरङ्ग । बुढीगङ्गा गाउँपालिका–२ साख्मा सुकुमवासी बस्तीमा बसोबास गर्ने ऋषिदेव ९मुसहर० समुदायका चार परिवार खानेपानीबाट वञ्चित भएको भन्दै खानेपानीको व्यवस्था गरिदिन प्रहरीमा उजुरी परेको छ । स्थानीय थापा मगर परिवारको जग्गामा बस्दै आएका उनीहरूले वैशाख २७ गते खानेपानीको व्यवस्था गरिदिन माग गर्दै मोरङ प्रहरीमा उजुरी दिएका हुन् ।

उक्त थापामगर परिवारकी १८ वर्षीया युवतीलाई २० वर्षी शनी ऋषिदेवले वैशाख १८ गते अन्तरजातीय विवाह गरेपछि युवतीको परिवारबाट दमन हुने क्रममा चार घर परिवारले प्रयोग गर्दै आएको सार्वजनिक चाँपाकल तोडिदिएपछि खानेपानीबाट वञ्चित हुनु परेको ४० वर्षीया खगनी ऋषिदेवले गुनासो गरिन् ।

थापा मगर परिवारले छोरीलाई झिकाउनु दबाब दिँदै सुरू–सुरूमा कुटपिट गरेको र वैशाख २७ गते सार्वजनिक चाँपाकल तोडिदिएपछि पानी खानबाट वञ्चित भएको दिपनाराण ऋषिदेवले बताए । सोही विषयमा वैशाख ३० गते इलाका प्रहरी कार्यालय नेमुवामा पत्रकारसहित भएको छलफलमा ठाकुर ऋषिदेवले थापा मगर परिवारबाट सधैँजसो कुटपिट हुने र वैशाख २७ गते २ हजार ५ सय रुपियाँ उठाएर किनेको चाँपाकल भत्काई दिएपछि खानेपानीबाट वञ्चित भएको बताए ।

चाँपाकल भत्काउनुका साथै पाइपमा गोबर र ढुङ्गा हालिदिएपछि आफूहरू अझ पीडित भएको ठाकुरले बताए ।

बुढीगङ्गा गाँउपालिका–२ का वडाध्यक्ष रेवतीनारायण चौधरीले खानेपानीको मुहान बन्द गर्ने कार्य अमानवीय र गम्भीर मानव अधिकार हनन् भएको भन्दै पीडित पक्षलाई तत्काल खानेपानीको व्यवस्था गर्ने बताए ।

बालविवाह भए कानुन बमोजिम कारवाही अघि बढाउने र खानेपानीको विषयमा तत्काल कारवाही अघि बढाउने जिल्ला प्रहरी कार्यालयका एसपी मनोज केसीको भनाई छ ।

Published On:  65पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार