कर्मचारी र बिचौलिया कनेक्सन : एउटा सूचना दिन ५० रुपैयाँ

  पत्रपत्रिका
112 Shares

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले नै यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारी र बिचौलियबीच गहिरो कनेक्सन रहेको निष्कर्ष निकालेको राजधानी दैनिकमा खबर छ । सोही कनेक्सनका आधारमा बिचौलियाहरूले ट्रायल परीक्षाको सूचना दिनसमेत सेवाग्राहीबाट प्रतिसेवाग्राही ५० रुपैयाँ लिने गरेको समेत पाइएको छ ।

सेवाग्राहीबाट बिचौलियाले उठाउने गरेको रकमको केही भाग कार्यालयका कर्मचारीसँग समेत पुग्ने भएकाले कार्यालय प्रमुखले कार्यालयको सूचना प्रणालीलाई प्रभावकारी नबनाएर बिचौलिया पोस्ने काम गरिरहेको स्रोतको भनाइ छ । बिचौलियासँगको साठगाँठका कारण कार्यालयको सूचना बिचौलियाबाट पैसा तिरेर पाइने तर कार्यालयले सूचना नदिने गरेको समेत पाइएको छ ।
सतर्कता केन्द्रले गठन गरेको छानबिन समितिले कार्यालयले दिने सूचनाको सम्बन्धमा सेवाग्राहीसँग बुझ्दा बिचौलियाले सेवाग्राहीसँग ५० रुपैयाँसम्म पैसा लिएर ट्रायल परीक्षाको जानकारी मोबाइलबाट गराउने गरेको पाइएको निष्कर्ष निकालेको हो । ‘कार्यालयकै कर्मचारीको मिलेमतोमा सेवाग्राहीलाई कार्यालयले प्रत्यक्ष रूपमा सूचना नदिएर बिचौलियामार्फत सूचना दिने वातावरण सिर्जना गरेको पाइयो,’ सकर्तकता केन्द्रका एक अधिकारीले भने । केन्द्रको छानबिन समितिले बिचौलियासँगको कनेक्सनका कारण त्यस्तो कार्य नियन्त्रण गर्न कार्यालयले बेवास्ता गरेको समेत पाइएको औंल्याएको छ ।
बिचौलियाले प्रतिसूचना ५० रुपैयाँसम्म लिइरहँदा पनि कार्यालय प्रमुखले बेवास्ता गर्नुले आर्थिक चलखेल भएको हुन सक्ने ठहर केन्द्रको छानबिन समितिले गरेको हो । केन्द्रको प्रतिवेदनका अनुसार दिनहुँ सर्वसाधारणको हजारौं रकम गुमिरहेको छ भने बिचौलिया र कर्मचारी मोटाइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार