भारतीय निर्वाचनमा ४० करोड ट्वीट, मतगणनामा ३२ लाख

84 Shares

एजेन्सी । भारतमा सम्पन्न लोकसभा चुनावका क्रममा सोसल मिडिया प्लाटफर्म ट्वीटरमा झण्डै ४० करोड ट्वीट भएका छन् । जनवरी २०१९ देखि २३ मे २०१९ सम्मको अवधिमा लोकसभा चुनावका बारेमा ३९ करोड ६० लाख ट्वीट भएको तथ्यांक सार्वजनिक भएको छ ।

त्यसरी ट्वीट गर्नेमा उम्मेदवार, राजनीतिक दलका कार्यकर्ता, राजनीतिक दलको आधिकारिक ह्याण्डल, आम सर्वसाधारण तथा सञ्चार माध्यम रहेका छन् । ट्वीटको यो संख्या सन् २०१४ को लोकसभा चुनावको तुलनामा ६ सय प्रतिशतले बढि हो । मतदानको समयसम्म झण्डै ४० करोड ट्वीट भएकोमा मतगणनाका क्रममा भने ३२ लाख ट्वीट भएका छन् । त्यसमध्ये एक तिहाई ट्वीट दिउसो ३ देखि ४ बजेसम्मको समयमा गरिएका छन् ।
ट्वीटरका अनुसार २३ मे को लोकसभा चुनावको मतगणनाका क्रममा नरेन्द्र मोदीको जितवाला ट्वीटपछि सम्म ३२ लाख ट्वीट भएका छन् । ट्वीटरका अनुसार यद्यपि यो चुनाव भारतमा सांसद तथा प्रधानमन्त्री छनोट गर्नका लागि थियो । तर यसको प्रभाव विश्वभर महसुस गरियो । दुनियाभरका देशहरुमा यो चुनावमा चर्चा भएको छ । त्यसक्रममा ट्वीटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम सबैभन्दा धेरै चर्चित बनेको छ । नरेन्द्र मोदी, बिजेपी तथा एनडिएको आधिकारिक ट्वीटर ह्याण्डलबाट गरिएका कूल ट्वीटरमध्ये मोदीको नाम उल्लेख भएका ट्वीटको संख्या ५३ प्रतिशत रहेको छ । जबकि कांग्रेस युपिएको अफिसियल ट्वीटर ह्याण्डिलबाट गरिएका ट्वीटमा केवल ३७ प्रतिशतमा मात्र मोदीको नाम प्रयोग गरिएको छ ।
ट्वीटरका अनुसार ११ देखि १९ अप्रिलसम्मको समयमा राष्ट्रिय सुरक्षाको मुद्दा ट्वीटरमा सबैभन्दा चर्चित रह्यो । त्यसपछि धर्म, रोजगार, कृषि तथा नोटबन्दी जस्ता मुद्दाहरु ट्वीटरमा ट्रेण्डिङ्ग बने । ट्वीटरमा यसपटक मानिसहरु हिन्दी तथा अंग्रेजीका अलावा क्षेत्रीय भाषाहरुमा पनि अत्यधिक ट्वीट गरेको ट्वीटरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार