चितवन । भरतपुर १५ मा निर्माणाधीन रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल मध्यरातमै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए राति रामपुरबाट पक्राउ गरेको हो ।

नेकपाका नेतासमेत रहेका कँडेल बुधबार राति ११ः१२ बजेतिर पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । प्रहरीले रंगशालाका बार भत्काउने १६ जनालाई पक्राउ गरिसकेको छ ।
अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही व्यक्तिले बार भत्काउने काम गरेकोप्रति स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले बार भत्काउने कार्यमा संलग्न दोषीमाथि कारबाहीको माग गरेका छन् । धुर्मस सुन्तली फाउण्डेशनले बनाउन शुरू गरेको रंगशाला गत माघ १६ गते फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो ।
बुधबार धुर्मस सुन्तली फाउण्डेशनले क्रिकेट रंगशाला बनाउनका लागि लगाएको बार भत्काउन आएकाहरुले फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए । बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका थिए । कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको तारको जाली, त्यस वरपरका रुखहरू ढलाएका एवं ती व्यक्तिहरुले झण्डै एक किलोमिटर जति बार भत्काएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयका कर्मचारीहरुले खिचेको फोटोलाई पनि डिलिट गर्न धम्की दिएकोसमेत बताइएको छ । घटनामा संलग्न भएको आशंकामा १६ जना पक्राउ परिसकेका थिए । कँडेलको खोजि भइरहेको अवस्थामा उनी हिजो राति नै पक्राउ परको हुन् ।
१६ जेष्ठ २०७६, बिहिबार
112
Shares







