महायज्ञमा बाह्र लाख बराबरको दान सङ्कलन

पाल्पा, ३० असोज । कालीगण्डकी नदीको उत्तरवाहिनी क्षेत्र महालिङ्ग धाम मालुङा हुँगीमा सञ्चालन भएको महायज्ञमा रु १२ लाख बराबरको दान सङ्कलन भएको छ ।

नेपाल महिमा एवम् श्री कालीगण्डकी ज्ञानविज्ञान गीता महायज्ञको आयोजनामा बिहीबारबाट सुरु भएको महायज्ञमा शनिबार तेस्रो दिनसम्म रु १२ लाख बराबरको दान सङ्कलन भएको सचिवालय समितिका सदस्य पदम अर्यालले जानकारी दिनुभयो ।

प्राकृतिक अस्पताल र आधुनिक गुरुकुल निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको महायज्ञमा दान गर्ने र कथा श्रवण गर्ने भक्तजनको उल्लेख्य सहभागिता रहेको छ ।

अहिलेसम्म यस महायज्ञमा पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, पोखरा, काठमाडौँ, हेटौँडा, चितवन, रुपन्देहीलगायतका स्थानबाट १५ हजारभन्दा बढी भक्तजनको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

शनिबार नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महायज्ञको अवलोकन गर्नुभएको थियो । यही कात्तिक ७ गतेसम्म सञ्चालन हुने महायज्ञमा पण्डित श्री चैतन्य कृष्णले सङ्गीतमय शैलीमा कथावाचन गर्नुभएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार