झापा, ३० असोज । दक्षिणी इलामको चुलाचुली–६ घर भएर हाल हङ्कङमा बस्दै आएका एक दाता परिवारले स्थानीय चुलाचुलीको एक विद्यालयसहित प्रवासी सञ्जाल नामक संस्थालाई नगदसहित जिन्सी सामग्री सहयोग उपलब्ध गराएका छन् ।
चुलाचुली–६ घर भई हाल हङ्कङमा बसोबास गर्ने शरण आङ्थुपो र श्रीमती शोभा (राई) आङ्थुपोले नगदसहित भौतिक साम्रगी उपलब्ध गराएका हुन् ।
शनिबार चुलाचुली–५ सूर्योदय आधारभूत विद्यालयमा एक कार्यक्रमका बीच श्रीमती शोभा राई आङ्थुपोले प्रवासी सञ्जालको अक्षयकोषका लागि रु ६० हजारसहित स्थानीय सूर्योदय आधारभूत विद्यालयलाई एक थान कम्प्युटर टेबल उपलब्ध गराएका हुन् । शरण आङ्थुपो प्रवासी सञ्जाल संस्थाका प्रवासस्थित सल्लाहकार सदस्य हुन् ।
उद्यमी प्रसाईंलाई डेङ्गु भएको पुष्टि

एक सातादेखि उच्च ज्वरोका कारण काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् दमक उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष प्रकाश प्रसार्इंलाई डेङ्गु सङ्क्रमण भएको छ ।
प्रसाईंको स्वास्थ्य परीक्षणका क्रममा उहाँलाई शुक्रबार साँझ डेङ्गु रोग लागेको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।
पाँच दिनको उपचारपछि शनिबार बिहानदेखि प्रसाईलाई नर्मल बेडमा सारिएको काँग्रेसका दमक नगर सभापति रोशन विष्टले जानकारी दिनुभयो । रासस







