रौतहट । रौतहटस्थित ईटा बोकेको एउटा ट्रकले किच्दा एक गर्भवती महिला र बालिकाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार साँझ कटहरियाबाट ईटा बोकेर गरुडातर्फ जाँदै गरेको लु १ प ३५६४ नम्बरको ट्रकले किच्दा गरुडा कटहरिया सडकखण्डमा मोटरसाइलमा सवार ४० वर्षिया गर्भवती सुगन्धीदेवी र ६ वर्षीय उनकी छोरीको मृत्यु भएको हो । श्रीमान दिलिप शाह कानु भने सकुशल रहेका छन् ।

आमाछोरी दुवैजनाको टाउको किच्चिएकाले घटना स्थलमै मृत्यु भएको सशस्त्र प्रहरी अस्थायी वेशक्याम्प दुधियाभारका सशस्त्र प्रहरी नीरिक्षक ओम ढकालले बताए । घटनालगतै मृतकका आफन्तहरुले ट्रकको सिसा फुटाएर आगजनी समेत रेका छन् । घटनास्थलमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासले आगलागीबाट ट्रकमा खासै क्षती नभएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए ।
मृतक महिला र बालिकाको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल गौर पठाईएको छ । दुर्घटनामा परेका ट्रक, मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी तुलसीराम अर्यालले बताए । ट्रकका चालक र सहचालक घटना लगतै फरार भएकाले उनीहरुको खोजी भईरहेको डिएसपी अर्यालले बताए ।







