सर्लाही । सर्लाहीमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीको गोली लागि विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु भएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख हरी पालले जानकारी दिए । लालबन्दी नगरपालिका वडा नम्बर १ मा दोहोरो भिडन्त हुँदा गोली हानाहान भएको हो । पौडेल विप्लवका जिल्ला इन्चार्ज हुन् ।
पौडेलको साथबाट पेस्तोल र गोलीसमेत बरामद गरेको प्रहरीले दाबी गरेको छ । प्रहरीले ना २२ प ५६ नम्बरको १ सय ५० सिसिको पल्सर मोटरसाइकल र अर्को अन टेष्ट लेखिएको मोटरसाइकल समेत फेला पारेको छ । दुईवटा मोटरसाइकलमा आएका चारजनाले प्रहरी माथि फायर खोलेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले बताए ।
मारिएका पौडेलले बोकेको झोलाबाट थ्री नट थ्री राइफलको गोली र सिक्सर पेस्तोल समेत फेला पारेको प्रहरीको भनाई छ । घटनामा बाँकी तीन जना भने भाग्न सफल भएका छन् । केही अघि भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकामा पनि प्रहरीको गोली लागेर एक कार्यकर्ताको मृत्यु भएको थियो । गस्ती टोलीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीको गोली लागि नेकपा नेता तीर्थराज घिमिरे मृत्यु भएको थियो ।






