१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

सुरुङमा थुनिएका १७ जनाको जीवितै उद्धार !



रसुवा । निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा बिहीबार राती थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ ।


शुक्रबार बिहान ७ बजे ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको डिएसपी भागेन्द्र प्रसाद ढकालले जानकारी दिए । बिहीबार राति साढे ८ बजेतिर गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र सुख्खा पहिरो खस्दा १७ जना कामदार थुनिएका थिए ।
सुरुङको एक सय मिटरभित्र काम गरिरहेको बेला थुनिएका उनीहरुलाई उद्धार गर्न रातिदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली परिचालित थिए । ‘सबै १७ जनालाई बिहान ७ बजे सकुशल उद्धार गरिएको छ । उहाँहरु खतरामुक्त भएकाले आत्तिनुपर्ने अवस्था केही पनि छैन,’ डिएसपी ढकालले भने, ‘माथिबाट सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले माथि हेर्दै, बाहिर निकाल्दै गरियो ।’
सुरुङ क्षेत्रमा सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले जोखिम कायमै रहेको प्रहरीले जनाएको छ । त्यसैले अहिले आयोजनाको काम रोकिएको छ । केही उपकरणहरु सुरुङभित्रै थुनिएका छन् । तर, भौतिक क्षतिको विस्तृत विवरण भने आइसकेको छैन । अडिट–४ टनेलभित्र कामदारहरु थुनिएको जानकारी पाएको १० मिनेटभित्रै खोज तथा उद्धारका लागि नेपाली सेनाको एक सेक्सन, सशस्त्र प्रहरीको २० जनाको टोली, जनपद प्रहरी ७ जना गरी ३८ जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो । अनलाईन खबरबाट

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ३ : १३ बजे