३ हजार ७ सय ३१ सीमास्तम्भलाई साढे ३५ करोड खर्च !

एउटा सीमास्तम्भ मर्मतमा ९४ हजार खर्च !

0 Shares

काठमाडौं । सकारले ५ वर्षको अवधिमा नेपाल भारत सीमास्तम्भ मर्मत र निर्माणमा साँढे ३५ करोड बजेट खर्च गरेको छ । ५ वर्षको अवधिमा नेपालले ३ हजार ७ सय ३१ वटा सीमास्तम्भलाई मर्मत एवं निर्माण गरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।


२ हजार ३५ वटा नयाँ र १ हजार ६ सय ९६ वटा मर्मत सम्भार गरिएको सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई मन्त्री ज्ञवालीले जानकारी दिएका हुन् । सीमास्तम्भ पुर्नस्थापना, नबनेका ठाउँमा स्थापना, बिग्रे भत्केको भए मर्मत-सम्भार र दशगजामा अतिक्रमण गरेर बसेकालाई हटाउने म्यान्डेट पाएको नेपाल-भारत सीमा कार्यदल (बाउन्ड्री वर्किङ ग्रुप)ले आधा सीमास्तम्भ पनि निर्माण र मर्मत गर्न नसकेको मन्त्री ज्ञवालीद्वारा प्रस्तुत भएको तथ्यांकले देखाउँछ ।
नेपाल भारत सीमामा निर्माण गर्नुपर्ने सीमास्तम्भको संख्या ८ हजार ५ सय ५४ वटा छ । तर, निर्माण गर्नु त कता हो कता ? कार्यदलले ५ सय सीमास्तम्भको निरीक्षण समेत गर्न सकेको छैन । सन् २०१४ जुलाईमा गठन भएको कार्यदलले ३ वर्षभित्र सम्पूर्ण काम सक्ने गरी जिम्मेवारी लिएको थियो । तर, निर्धारित मितिमा काम नसकेपछि म्याद थप्दै कार्यदलले वर्षेनी बजेट पाइरहेको छ । सीमास्तम्भ सम्बन्धी काम नापी विभागले गर्ने भए पनि यो टोलीका लागि बजेट भने परराष्ट्र मन्त्रालय मार्फत विनियोजन हुँदै आएको छ ।
आर्थिक वर्ष २०७६/०७७ का लागि सीमा टोली शीर्षकमा ६ करोड ६८ लाख विनियोजन गरिएको छ । ५ वर्षमा कार्यदलले साढे ३५ करोड भन्दा बढी रकम खर्च गरिसकेको छ । आ.व. २०७१/०७२ मा ४ करोड १९ लाख खर्च गरेकोमा आ.व. ०७२/०७३ मा ११ करोड ५४ लाख खर्च भएको थियो । त्यस्तै ०७३/०७४ मा ५ करोड ४२ लाख, ०७४/०७५ मा ६ करोड ६ लाख र ०७५/०७६ मा ८ करोड ३१ लाख रुपैयाँ सीमा टोलीले खर्च गरेको अर्थ मन्त्रालयको अभिलेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार