२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

रविन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाको रहस्य खुल्यो ! दुर्घटनाको कारण हिमाली आँधी ?



काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर दुर्घटनामा प्रतिकुल मौसमलाई नै मूख्य कारण ठहर गरिएको छ । १५ फागुन २०७५ मा ताप्लेजुङको पाथिभराबाट काठमाडौंका लागि उड्ने क्रममा एयर डाइनेस्टीको ‘९ एन–एएमआई–एसएस ३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा परेको थियो ।


दुर्घटनापछि सरकारद्वारा गठित छानविन आयोगले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समक्ष प्रारम्भिक प्रतिवेदन पेश र्गयो । मन्त्रालय स्रोतका अनुसार प्रतिवेदनमा दुर्घटनाको मूख्य कारण प्रतिकुल मौसम मानिएको हो ।
प्रतिवेदन अनुसार मन्त्री सवार हेलिकोप्टर पाथिभरामा ओर्लिएपछि मौसम झनै बिग्रियो । त्यही बीचमा केही समय मौसम खुलेपछि यही मौकामा उडिहालौं, फेरी मौसम बिग्रन सक्छ भन्ने कुरा भयो, त्यसपछि पाइलटले हेलिकोप्टर उडाए । हेलिकोप्टर उडेको १ मिनेटभित्रै पुनः हिउँसहितको हिमाली आँधि आयो । हेलिकोप्टर मोडिने समयमै अकस्मात आएको आँधिमा पर्दा पाइलटले सम्हाल्ने मेसो नै पाएनन् र हेलिकोप्टर दुर्घटनामा र्पयो ।

पाइलटलाई दवाव थिएन

मौसमबाहेक यस दुर्घटनामा मानवीय दवाव भने नदेखिएको मन्त्रालय स्रोतको भनाइ छ । टोलीलाई मौसमका कारण छिटो सुरक्षित स्थानमा फर्कने दवाव थियो, तर उच्चपदस्थ अधिकारी कसैबाट पनि पाइलटलाई जहाज उडाउन दवाव नदिइएको आयोगको निष्कर्ष छ ।
मौसम निरन्तर प्रतिकुल भएका कारण उड्न नसके पाथिभरामै बासबस्नु पर्ने अवस्था आउने भएकाले टोली दवावमा भने थियो । आयोगले यस छानविनमा प्रत्यक्षदर्शीलाई मूख्य आधार मानेको छ । किनकी हेलिकोप्टरमा अन्य प्राविधिक रेकर्ड हुँदैन जसका माध्यमबाट दुर्घटनाको कारण पत्ता लागोस । पाथीभराका पूजारी तथा स्थानीयबासीको बयान र त्यसलाई प्राविधिक रुपमा विश्लेषण गरी निष्कर्षमा पुगिएको आयोगको भनाई छ । दुर्घटना हुनुमा प्राविधिकतर्फ पनि कुनै कारण फेला परेन ।

बिहीबार विहान बाक्लो कुहिरोभित्र ताप्लेजुङ सुकेटार विमानस्थल कार्यालयको दृश्य । दुर्घटनाग्रस्त हेलिकोप्टरका यात्रुहरुको शव काठमाडौं लैजान निरन्तर बिग्रेको मौसमले अवरोध पु¥याइरहेको छ ।

आयोगले छानविनका क्रममा भने प्राविधिक तथा व्यवस्थापन पक्षका पदाधिकारीसँगको छलफल, दुर्घटनास्थलको स्थलगत अध्ययन, मौसमको अवस्था विश्लेषण, चालकको मानसिक, सामाजिक, आर्थिक तथा पारिवारिक अवस्थाको विश्लेषणसमेत गरेको बताइएको छ । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार प्रारम्भीक प्रतिवेदनलाई सम्बन्धित मुलुक तथा निकायमा ६० दिनको समय दिएर पठाउने प्रावधान रहेको छ । उक्त अवधिमा सरोकारवालाबाट राय सुझाव समेटेर विस्तृत विवरण सार्वजनिक हुनेछ ।
१५ फागुन दिउँसो ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको दुर्घटनामा हेलिकोप्टरमा पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो । अनलाईन खबरबाट ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  २ : ०४ बजे