२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

स्थानीयको पहलमा विद्युत लाईन विस्तार



सन्तोष रुचाल/धनकुटा, ३० असोज । धनकुटाको कुरुलेतेनुपा गाविस वडा नं. ३ सुरुङ्गगीका स्थानीयवासीहरुले आफ्नै सक्रियतामा विद्युत लाइन विस्तार गरेका छन् ।
गाविसका अधिकांश वडाहरुमा विद्युत लाइन विस्तार भई सक्दा समेत वडा नं. ३ सरुङ्गगीमा विद्युत लाइन विस्तार नभएपछि स्थानियवासी बत्ती बाल्न आफै जुटेका हुन् । करिब चार महिनासम्मको निरन्तर प्रयास र स्थानीयको दैनिक जनश्रमदानबाट विद्युत विस्तार भएपछि स्थानीयवासीमा खुसियाली छाएको छ । दशैको टीकाको दिन विहानबाट आफ्नो गाउँमा बत्ती बलेपछि आफुहरु अत्यन्तै खुसी भएको स्थानीयवासीले बताएका छन् । विद्युत विस्तारका लागी ४ महिनासम्म हरेक घरबाट दैनिक एक एक जनाका दरले जनश्रमदान गरेसगँै गाउँमा विद्युत विस्तार गर्न सफल भएको कुरुलेतेनुपा गाविस वडा नं. ३ विद्युत लाइन विस्तार उपभोक्ता समितिका अध्यक्ष इन्द्र मगरले बताउँनुभयो ।
विद्युत लाइन विस्तारका लागी जिल्ला विकास समिति धनकुटाको तर्फबाट ११ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यस्तै उपभोक्ताहरुबाट पाचँ लाख ५० हजार रुपैयाँ संकलन भएको र जनश्रमदान करिब ३० लाख बराबरको भएको अध्यक्ष मगरले बताउँनुभयो । कुरुलेतेनुपा गाविस वडा नं. ३ सरुङ्गगीमा ९२ घरधुरी रहेको छ । सुरुङ्गगीका उपभोक्ता र स्थानीयवासीको सक्रियतामा विद्युत लाईन विस्तार गरी बत्ती बाल्न सफल भएसगँै अन्य वडाहरुका स्थानीयवासीहरुले पनि यसरी सक्रिय भए गाविसका सबै वडामा विद्युत विस्तार हुने मुढेवास कुरुलेतेनुपा विद्युत विस्तार उपभोक्ता समितिका अध्यक्ष कमलप्रसाद बरालले बताउँनुभयो ।
आफुले नुन बोक्न धरान जादाँ धरानमा बत्ती बलेको देखेको सुनाउदै स्थानीय ७२ वर्षीय कृष्णबहादुर ढोडेली मगरले भन्नुभयो–“यसरी हाम्रो पालामा बत्ती आफ्नो घरैमा बल्छ भनेर कल्पना पनि गरेको थिईन । तर सबैको साझा प्रयास भयो भने नसोचेको कुरा पनि पुरा हुदो रहेछ । आफुलाई अत्यान्तै खुसी लागेको छ ।” कुरुलेतेनुपा गाविसको वडा नं. ९, ६, ५ र २ मा विद्युत लाइन विस्तार पहिले नै भई सकेको छ भने बाँकी वडाहरुमा विद्युत लाइन विस्तार हुन सकेको छैन् । जिल्ला सदरमुकामबाट करिब ११ कोष टाढा रहेको कुरुलेतेनुपा गाविस जिल्लाको २ नगरपालिका र २८ गाविस मध्ये विकट गाविसको रुपमा रहेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७३, आइतबार  ४ : १६ बजे