काठमाडौँ, १ कात्तिक । वाणिज्यमन्त्री रोमी गौचन थकालीले बिमस्टेक स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी सम्झौतालाई यथाशीघ्र अन्तिम रुप दिई कार्यान्वयनमा ल्याउन सके यस क्षेत्रका अतिकम विकसित र विकासोन्मुख मुलुकको व्यापार र आर्थिक वृद्धिमा सकारात्मक योगदान पुग्नसक्ने बताएका छन् ।
गोवामा ब्रिक्स– बिमस्टेक सम्मेलनको साइडलाइनमा आयोजित बिमस्टेक व्यापार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री थकालीले सो विचार व्यक्त गरेका हुन ।
उनले व्यापार तथा आर्थिक एकीकरणको दृष्टिले बिमस्टेक क्षेत्र अहिले पनि सबैभन्दा कमजोर क्षेत्रको रुपमा रहनु यस क्षेत्रका अतिकम विकसित मुलुकका लागि लाभदायक नभएको बताउँदै बिमस्टेक फ्रेसवर्क सम्झौताको प्रभावकारी कार्यान्वयनमार्फत यस क्षेत्रका सदस्य मुलुकबीच व्यापार, लगानी र सेवा व्यापारका क्षेत्रमा आपसी अन्तरसम्बद्ध प्रवद्र्धन गर्नुपर्ने कुरामा जोड दिए ।

सो सम्मेलनपछि बङ्गलादेश पुग्नु भएका मन्त्री थकालीले आइतबार बङ्गलादेशका वाणिज्यमन्त्री तोफाल अहमदसँग भेटवार्ता गरे । सो अवसरमा बङ्गलादेश र नेपालबीच लगानी तथा द्विपक्षीय व्यापार प्रवद्र्धन र व्यापारजन्य पूर्वाधारको सुुधारका विषयमा छलफल भएको थियो ।
नेपालबाट बङ्गलादेशमा निर्यात हुने १०८ वटा वस्तुलाई शून्य भन्सार महसुलमा तथा बङ्गलादेशबाट नेपाल आयात हुने ५० वटा वस्तुलाई सहुलियतपूर्ण भन्सार दरको सुविधा उपलब्ध गराउने विषयको समझदारीलाई टुङ्गोमा पु¥याई यथाशीघ्र कार्यान्वयनमा ल्याउने विषयमा दुवै पक्षबीच सहमति भएको वाणिज्य मन्त्रालयद्धारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
भेटघाटका क्रममा दुवै वाणिज्यमन्त्रीले बङ्गलादेश–भूटान–भारत र नेपालबीच भएको मोटर भेहिकल मुभमेन्ट्स एग्रिमेन्टलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन जोड दिएका थिए । रासस






