२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

भारतले त नाकामै रोक्छ नेपाली तरकारी ! अनि नेपालले चाँहि किन सरासर ल्याउने सरकार ?



काठमाडौं । भारतले वेला–वेला विषादी तथा गुणस्तर परीक्षण, तस्करीलगायत नाममा नेपालका कृषि तथा जडीबुटीलगायत उत्पादनलाई निकासीमा अवरोध गर्ने गरेको छ । नेपालको अदुवा, अलैँची, चिया तथा जडीबुटी निकासीमा गैरभन्सार अवरोध गर्दै आएको छ । अहिले पनि नेपालका ७९ जडीबुटी निकासीमा रोक लगाएको नयाँ पत्रिकामा खबर छ ।


नेपालबाट निकासी हुने कृषि, खाद्य र पशुपक्षीलगायतको जीवाणु तथा विषादी जाँच गर्ने प्रयोगशाला भारतीय नाकामा पनि छैन । त्यसैले नमुना बोकेर कोलकाता, पटना र लखनउ लैजानुपर्ने बाध्यता छ । ती ठाउँमा लगेर परीक्षण गर्दा रिपोर्ट आउन एक सातासम्म लाग्ने भएकाले कैयौँपटक नेपालका कृषिवस्तुहरू नाकामै कुहिने र बिग्रने गरेका छन् ।
त्यस्तै, भारतीय प्रहरी तथा कर्मचारीले नेपाली निकासीकर्तासँग अवैध रूपमा प्रतिट्रक ५० हजार रुपैयाँसम्म लिन्छन् । विभिन्न बहानमा भारतीय प्रहरी र भन्सार कर्मचारीले प्रतिट्रक ४०–५० हजार रुपैयाँसम्म अतिरिक्त पैसा लिने गरेको नेपाली निकासीकर्ताहरू बताउँछन् ।
भारतले विभिन्न प्रकारका कर लगाएरसमेत नेपालको निकासीलाई प्रभावित पार्दै आएको छ । डिसेम्बर २०१६ देखि नेपालको जुटमा काउन्टर भ्यालु ड्युटी (प्रतिकारात्मक कर) लगाएको कर नेपाल सरकार र निजी क्षेत्रको पटक–पटकको आग्रहपछि अप्रिल २०१७ देखि लागू हुने गरी हटायो । तर, एन्टीडम्पिङ ड्युटी भने अझै कायम नै राखेको छ । भारतले वनस्पति घिउ, एक्रिलिक यार्न (धागो), कपर र जिन्कअक्साइड निर्यातमा समेत कोटामा आधारित भन्सार दर निर्धारण गरेको छ । भारतले ३० प्रतिशतभन्दा कम मूल्य वृद्धि भएको नेपाली वस्तुमा समेत भन्सार लगाउने गरेको छ ।
भारतले नेपालको तरकारी, फलफूल तथा खाद्यान्न मात्रै होइन, क्वारेन्टाइन जाँचको बहानामा कुचो निकासीमा समेत अवरोध गर्दै आएको छ । ‘अम्रिसोको कुचोको समेत क्वारेन्टाइन जाँचका नाममा भारतले अवरोध गर्ने गरेको छ,’ नेपाल हब्स एन्ड हर्बल एसोसिएसनका अध्यक्ष तथा निकासीकर्ता गोविन्द घिमिरेले भने, ‘भारतीय गैरभन्सार अवरोधकै कारण नेपाल–भारतको व्यापार असन्तुलन उच्चदरमा बढिरहेको छ ।’

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ३ : ०९ बजे