पानीको उच्च बहावले बाँध फुटेपछि मात्रै भारतले ढोको खोल्यो !

रौतहट । नदीमा पानीको बहाव बढेपछि नेपाली सुरक्षाकर्मीहरुले शुक्रबार नै बाँधको ढोका खोल्न आग्रह गरेका थिए तर, भारतीय पक्षले सुनुवाई नगर्दा रौतहट डुवानमा पर्यो ।

शनिबार दिउँसो भारतीय गाँउ भकुरहर नजिकै बाँध फुटेर पानीले निकास पाएपछि गौरमा पानी सतह केही कम भयो । तर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्किएको बाँध तत्काल मर्मत गरेको छ । साथै बाँधको ढोका खोलेको छ । एसएसबीको क्याम्प नजिकैको बाँधको ढोका आंशिक रुपमा खोलिएको छ, भने त्यसभन्दा पूर्व रहेको बाँधको ढोका पूर्णरुपमा खोलेर पानीलाई निकास दिइएको छ ।
बाँध भत्किँदा बस्ती नै बगाउने सम्भावना भएकाले भारतको भकुरहर, मुसाचक लगायतका बासिन्दा पनि बाँधको ढोका खोल्न एसएसबीलाई दबाव दिएका थिए ।
भारतले समयमै बाँधका ढोकाहरु नखोल्दा रौतहट पूर्णरुपमा डुबानमा परेको छ । लालबकैया र बाग्मती नदीमा आएको बाढीले सदरमुकाम गौरसहित अधिकांश भाग डुवाएको छ ।
गौरमा शुक्रबार राति नै बाढी पसेको थियो । सदरमुकामका मुख्य सडकमा एक तले घर डुब्ने गरी पानी जम्मा भएको छ भने जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायत प्रहरी युनिट समेत डुबानमा परेका छन् । बाढीले गौरसँगै गरुडा, कटहरीया, मत्सरी, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा, बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, बसन्तपट्टी र तेजापाकड डुबाएको छ ।
डुवानका कारण जनजीवन निकै कस्टकर बनेको छ । डुबेर गौर ३ टिकुलियाका शिवमंगल पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले बताए । मौलापुर नगरपालिकाको वडा नं. १, ३ र ४ मा चार सय घर प्रभावित भएका छन् भने २० हजार बढी विस्थापित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार