जनशक्ति अभाव विभागमा पूर्वसूचना प्रणाली विपद् जोखिम न्यूनीकरणका लागि अचूक उपाय

0 Shares

काठमाण्डौं । सूचना तथा प्रविधिको प्रयोगले अविरल वर्षाका कारण बाढीको चपेटमा परेका नागरिकको जीउधनको रक्षाका लागि सहयोग पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बाढी जान सक्ने र बस्ती डुबानमा पर्न सक्ने जोखिम भएका स्थानमा तत्काल नै मोबाइलमार्फत एसएमएस पठाएर सचेत रहन आग्रह गरेका कारण जनधनको क्षति न्यूनीकरण हुन सकेको दाबी गरेको छ ।

महाशाखाले बाढी तथा पहिरोको जोखिम रहेका क्षेत्रमा स्याटेलाइट सूचनाका आधारमा एकाध घण्टा पहिल्याई सूचना प्रवाह गर्ने गरेको छ । विभागले पछिल्लो दुई दिनमा मात्रै वाग्मती नदी प्रभावित सर्लाही र रौतहटमा मात्रै नेपाल टेलिकम र एनसेलमार्फत दुई लाख एसएमएस पठाएको छ । यस्तै कमला नदीको प्रभावित क्षेत्रमा ७५ हजार, कोशी नदीको प्रभावित क्षेत्रमा ६० हजार र राप्ती सोनारी क्षेत्रमा ५० हजार एसएमएस पठाई बाढीको पूर्वसूचना दिएको छ ।

विभागले देशका १२० स्थानमा वर्षाको जानकारी दिने सूचना प्रणाली जडान गरेको छ भने १०० स्थानमा बाढीको जानकारी दिने प्रणाली उपलब्ध छ तर उच्च हिमाली क्षेत्र र चुरेका केही स्थानमा भने उक्त प्रणाली अझै जडान भएको छैन । जडान नभएका स्थानमा समेत छिट्टै पूर्वसूचना प्रणाली जडान गर्ने तयारीमा रहेको विभागले जनाएको छ ।

पूर्वसूचना प्रणालीले विपद्बाट जोगाउन सहयोग पुगेको उल्लेख गर्दै विभागका महानिर्देशक सुर्जकुमार वैद्यले सूचना प्रणालीलाई थप व्यवस्थित बनाउन लागिपरेको जानकारी दिए । विभागले प्राप्त गर्ने तथ्याङ्क गृह मन्त्रालयलाई समेत उपलब्ध गराउने भएकाले पूर्वतयारी तथा जोखिम न्यूनीकरणका लागिसमेत सहयोग पुग्ने गरेको छ ।

यस्तै विभागले सामाजिक सञ्जालको समेत भरपुर उपयोग गरेको छ । त्यसबाट जोखिम कम गर्न बल पुगे पनि मौसम तथा बाढीका बारेमा जानकारी दिने र पूर्वसचेतता अपनाउनका लागि उपलब्ध गराउनुपर्ने जनशक्तिको भने विभागमा अभाव देखिएको छ ।

विभागमा हाइड्रोलोजिस्ट सुनिल पोखरेल लगातार १४ घण्टा काम गर्नु परेको गुनासो गरे । विभागका महानिर्देशक वैद्यका अनुसार सामान्यता ६ जना जनशक्ति जरुरी पर्ने भए पनि हाल तीन जनाले काम चलाइएको बताए ।

विशेषगरी मनसुनको समयमा चौबिसै घण्टा खट्ने जनशक्ति जरुरी रहेको भए पनि उपलब्ध हुन सकेको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, जलस्रोत सचिव डा सञ्जय शर्मासहितको निरीक्षणमा गएको टोलीलाई विभागका कर्मचारीले आवश्यक जनशक्ति थप गरिदिन माग गरे । उनीहरुको गुनासो सुनेपछि सचिव शर्माले भने, “आवश्यक प्रक्रिया मिलाएर माग गर्नुस् हामी थप जनशक्ति उपलब्ध गराउँछौँ”, उहाँले ठूलो जनधनको क्षति हुनबाट रोक्नका लागि पनि विभागलाई साधन र स्रोतले दक्ष बनाउन मन्त्रालय लागिपरेको सचिव शर्माले भने ।

विभागलाई साधन स्रोत सम्पन्न बनाउँछौँ ः मन्त्री पुन

विभागको स्थलगत निरीक्षणमा पुगेका मन्त्री पुनले विभागलाई साधन र स्रोत सम्पन्न बनाउन मन्त्रालयले आवश्यक पहल गर्ने बताए । बाढी तथा मौसमको पूर्वानुमान गर्ने विषय वैज्ञानिक एवं व्यावहारिकसमेत हुनुपर्ने भएकाले उहाँले मसिनो गरी अध्ययन गर्न, कुन स्थानको मौसम के कस्तो रहन्छ भन्ने तथ्यपरक जानकारी दिने व्यवस्था गर्न निर्देशन दिए ।

“थप जनशक्ति उपलब्ध गराउन मन्त्रालयले आवश्यक पहल गर्छ । त्यसमा कुनै चिन्ता नलिनुस् तर नागरिकलाई सही र तथ्यपूर्ण सूचना दिनुस”, मन्त्री पुनले भने । खतरा रहेका स्थानका बारेमा जानकारी दिन निर्देशन दिँदै मन्त्री पुनले सानो प्रयासले पनि ठूलो नोक्सानी टर्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । विपद्को जोखिम न्यूनीकरण गर्न पनि पूर्वसूचना प्रणालीले ठूलो सहयोग पुग्ने भएकाले कुनै कमजोरी नगर्नसमेत मन्त्री पुनले आग्रह गरे ।

मन्त्री पुनले एसएमएस प्रणालीलाई बढीभन्दा बढी क्षेत्रमा पुग्ने व्यवस्था गर्न, सञ्चारमाध्यम तथा अत्यावश्यक क्षेत्रलाई प्राथमकितामा राख्न आग्रह गरे । उहाँले काठमाडौँ उपत्यकामा बस्ने नागरिकलाई समेत त्यस्तो सूचना प्राप्त हुने व्यवस्था गर्न निर्देशन दिए । राजधानीबाहिरका धेरै नागरिक काठमाडौँमा बस्ने भएकाले उनीहरुको गाउँघरका लागिसमेत राजधानीवासीलाई एसएमएस प्राप्त हुने व्यवस्था गर्नु जरुरी रहेको उहाँको भनाइ छ ।

विमानस्थल निर्माणमा समेत वृद्धि भएको र मौसम तथा पूर्वानुमानको काम गर्ने जनशक्तिसमेत थप गर्दै जानुपर्ने देखिएको विभागका सिडिई हाइड्रोलोजी राजेन्द्र शर्माले जानकारी दिए । आज पनि प्रदेश नं १, २ र ३ को चुरेबाट बहने साना नदी जलाधारमा थप वर्षा भइरहेको छ । प्रमुख तथा मझौला नदीमा भने सतर्कता तह तलै रहेको र सोमबारदेखि देशैभरका नदीहरुको अवस्था सामान्य रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार