गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न ,अर्काे सम्मेलन अर्काेवर्ष चीनमा हुने

0 Shares

गोवा (भारत), १ कात्तिक । उदाउँदो अर्थतन्त्र भनेर मानिने देशहरु ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकासम्बद्ध संगठन, ब्रिक्सको आठौं सम्मेलन भारतका गोवामा आइतबार सम्पन्न भएको छ ।
सो सम्मेलन यही अक्टोबार १५ र १६ मा भारतको गोवामा भएको थियो । उक्त सम्मेलनले गोवा घोषणापत्र पनि जारी गरेको छ ।
बिमस्टेक र ब्रिक्सका नेताहरुको संयुक्त यस घोषणापत्रमा विश्वमा सुशासन, साझेदारी, लगानी प्रवर्धन एवम् संयुक्त लगानीका साथै आर्थिक विकासका क्षेत्रमा विश्वमा सहयोग पुर्यान सकिने विषय सो घोषणापत्रमा समेटिएको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिलियन राष्ट्रपति माइकेल टेमर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण अफ्रिकी राष्टपति ज्याकोब जुमा सो सम्मेलनमा सहभागी हुनुहुन्थ्यो ।
सो सम्मेलनमा आर्थिक क्षेत्रको बिकासका साथै सामुहिक विकासका अवसरहरुको खोजी हुनुका साथै विभिन्न क्षेत्रमा भएको सहयोग र समन्वयका बारेमा व्यापक मात्रामा छलफल भएको थियो ।
सो घोषणापत्रमा संयुक्त राष्ट्रसंघको सन् २०३० दिगो विकास सम्बन्धी लक्ष हासिल गर्नका लागि विकासशील देशहरुलाई विकासित देशले सहयोग गर्ने भनेको प्रतिबद्धता बमोजिम काम गर्न पनि आग्रह गरिएको छ ।
त्यस घोषणा पत्रमा गएको एक दशकमा यस संगठनका लागि सहयोग गरेकोमा संयुक्त राष्टसंघका महासचिव बान कि मुनलाई विशेष धन्यवाद पनि ज्ञापन गरिएको छ ।
त्यसैगरी आगामी कार्यकालका लागि संयुक्त राष्टसंघको महासचिवमा नियुक्त हुनुभएका एन्टोनियो गुटेर्रेस लाई सो घोषणापत्रमार्फत बधाई ज्ञापन पनि गरिएको छ ।

वर्तमान महाचिव बान की मुनको कार्यकाल यही डिसेम्बर ३१ मा सकिएपछि सन् २०१७ जनवरी एकदेखि गुटेर्रेसले महासचिवको जिम्मेवारी सम्हाल्नु हुनेछ । उहाँले यसअघि राष्ट्रसङ्घ शरणार्थी आयोगको प्रमुखको जिम्मेवारी पनि निभाउनुभएको थियो ।

आपसी हितको प्रवर्धन र सहयोग एव्म समन्वयलाई अघि बढाउन जि२० संगठनसँगको सहकार्यलाई अघि बढाउन पनि उक्त घोषणा पत्रले प्रतिबद्धता व्यक्त गरेको छ ।
सो घोषणा पत्रले ब्रिक्स राष्ट्रहरुमा हालै भएका भनिएका कतिपय आतङ्कवादी हमलाहरुको निन्दागर्दै सबैखाले आतङ्कवादी क्रियाकलापहरुको कडा शब्दमा निन्दा गरेको छ ।
यस घोषणापत्रमा वातावरणीय संरक्षण एवम् जलवायु परिवर्तनको असर कमगर्ने विषयमा हालै गरिएको पेरिस सम्झौताको पनि स्वागत गरेको छ ।
यस संगठनको आगामी, नवौँ सम्मेलन चीनमा आयोजना गरिने भएको र यसका लागि चीनलाई विशेष धन्यवाद पनि ज्ञापन गरिएको छ ।
ब्रिक्स्को यस आठौँ सम्मेलनमा विभिन्न देशका नेताहरुले आ आफ्ना देशका द्धिपक्षीय हित र मामिलामा पनि आपसमा कुराकानी गर्ने अवसर पाएका थिए । रासस÷ सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार