१.न. प्रदेशका योजना छोटो समयमा उल्लेख्य प्रगति

0 Shares

फिदिम । गत आर्थिक वर्षमा प्रदेश नं १ बाट पाँचथरमा सञ्चालित पूर्वाधार विकासका योजनामा उल्लेख्य प्रगति देखिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयबाट सञ्चालित पूर्वाधार विकासका अधिकांश योजनामा छोटो समयमै उल्लेख्यरूपमा भौतिक र वित्तीय प्रगति देखिएको हो ।

गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयले पाँचथर र ताप्लेजुङमा गरी ७४ पूर्वाधारका योजना सञ्चालन गरेको थियो । यीमध्ये ५० योजना गत आर्थिक वर्षमै पूरा गर्नुपर्ने थिए । गत आर्थिक वर्षमै सम्पन्न गर्नुपर्ने योजनामध्ये दुवै जिल्लामा दुई÷दुई योजना मात्रै पूरा गर्न नसकिएको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख भरतकुमार यादवले बताए । निर्माण सम्पन्न भएकामध्ये एउटा योजना मात्रै उपभोक्ता समितिबाट निर्माण गरिएको र बाँकी सबै ठेक्का प्रक्रियाबाट निर्माणकार्य सम्पन्न गरिएका छन् ।

दुई जिल्लाका ७४ योजनामध्ये १५ योजना क्रमागत योजनामा रुपान्तरित भएका छन् भने नौ योजनाको बहुवर्षीय ठेक्कासमेत लागिसकेको कार्यालय प्रमुख यादवले जानकारी दिए । गत आर्थिक वर्षमा उक्त कार्यालयले ६९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आर्थिक वर्षको अन्त्यतिर रु चार करोडको अख्तियारी प्राप्त हुँदा कार्यालयको वित्तीय प्रगति पाँच प्रतिशतले कम देखिएको यादवको भनाइ छ ।

सडक तथा सडक पुल निर्माणका ७४ योजनामा रु ५४ करोड ९३ लाख ३२ हजार कूल विनियोजित बजेटमा रु ३७ करोड ३९ लाख ४५ हजार खर्च भएको कार्यालयको तथ्याङ्क छ । उक्त रकममध्ये पाँचथरमा ३८ योजनाका लागि रु २९ करोड १३ लाख ३२ हजार रकम विनियोजन भएकामा रु २१ करोड ५४ लाख ८५ हजार रकम खर्च भएको छ । ताप्लेजुङमा ३६ योजनाका लागि रु २५ करोड ८० लाख रकम विनियोजन भएकामा रु १५ करोड ८४ लाख ६० हजार रकम खर्च भएको कार्यालयले जनाएको छ ।

११ जनाको दरबन्दी, हाकिम मात्रै हाजिर

पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र भएको पूर्वाधार विकास कार्यालयमा ११ जना प्राविधिक कर्मचारीको दरबन्दी छ । तर हाल कार्यालय प्रमुख इञ्जिनीयर यादव मात्रै हाजिर हुनुहुन्छ । गत आर्थिक वर्षको अन्त्यसम्म कार्यालयमा रहेका केही प्राविधिक कर्मचारीसमेत अहिले समायोजन भई सङ्घ तथा प्रदेश मातहतका अन्य कार्यालयमा गइसकेका छन् ।

प्रदेश नं १ का आठ पूर्वाधार विकास कार्यालयमध्ये गत आर्थिक वर्षको कार्यसम्पादनमा पाँथचरस्थित कार्यालय उत्कृष्ट ठहरिएको थियो । तर, कार्यालयमा प्राविधिक कर्मचारी नहुँदा योजना सम्पन्न गर्न समस्या भएको कार्यालय प्रमुख यादवको भनाइ छ ।

आर्थिक वर्ष सकिँदासमेत काम निरन्तर

सामान्यतः आर्थिक वर्ष सकिएपछि एक वर्षे विकास योजनाको निर्माणकार्य रोकिन्छ । तर, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत पाँचथरमा सञ्चालित शिक्षा, स्वास्थ्य र खेलकूदसँग सम्बन्धित पूर्वाधारका योजना भने नयाँ आर्थिक वर्ष शुरु हुँदासमेत निर्माणकार्य जारी छ । गत आर्थिक वर्षमै सामग्री खरीद गरी नयाँ आर्थिक वर्षमा जनश्रमदानमार्फत भवन निर्माणका योजनालाई निरन्तरता दिइएको हो । पाँचथरमा स्वास्थ्य कार्यालयमार्फत यी योजना अघि बढाइएका थिए ।

कार्यालयका प्रमुख तेजबहादुर तुम्बापोका अनुसार गत वर्ष शिक्षा, स्वास्थ्य र खेलकूदका २३ योजना सञ्चालित थिए । यी सबै योजना उपभोक्ता समितिबाट निर्माण गरिएका थिए । वैशाखमा योजना सञ्चालनका लागि अख्तियारी प्राप्त भएकाले हतारमा योजना सम्पन्न गर्नुपरेको तुम्बापोको भनाइ छ । यीमध्ये केही योजना आर्थिक वर्ष समाप्त भइसक्दा समेत निर्माणकार्य जारी राखेर पूरा गरिएको उहाँले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार