रुकु कार्कीको बयान सकियो भोलि रबि र युवराज

63 Shares

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरु विरुद्ध आज दिउँसो मुद्दा दर्ता गराएको हो ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको छ भने बाँकी दुई जनाको बयान भोलि सोमबार १० बजेबाट सुरु हुनेछ । समय अभावका कारण आज उनीहरुको बयान लिन नसकिएको उहाँले बताए।

जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गरिएको छ । सो दफामा पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था रहेको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा उक्त मुद्दा रहेको छ । साउन २० गते राति नारायणगढको एक होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । सो पश्चात् अनुसन्धानको क्रममा भेटिएको भिडियोमा तीन जनाका कारण आफूले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेपछि लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो ।

उनीहरु पक्राउसँगै समर्थकहरुले रिहाइ गर्नुपर्ने माग गर्दै दिनहुँ यहाँ प्रदर्शन गरिरहेका छन् । गत वर्षको भदौमा लागू भएको नयाँ कानुनमा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था रहेको छ । उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ ।

लामिछानेसहितको मुद्दाको टुङ्गो लाग्ने भन्दै ठूलो सङ्ख्यामा समर्थकहरुले प्रदर्शन गरेका थिए । साँझ अदालतबाट उनीहरुलाई प्रहरी कार्यालयमा ल्याउने क्रममा प्रहरीले समर्थकहरुलाई तितरवितरा गर्न केही सेल अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा समर्थकहरुले प्रहारीमाथि ढुङ्गा प्रहार गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार