सशस्त्र युद्ध लडेका लडाकु बाख्रापालनमा रमाउँदै

35 Shares

चितवन । दश वर्षे सशस्त्र युद्धमा तत्कालीन माओवादीका तर्फबाट लडेका लडाकु र त्यही माओवादीबाट परिवार गुमाएका दुई युवा मिलेर जिल्लाको माडीमा व्यवसाय थालेका छन् । आफ्नो लडाइँ र त्यागबाट प्रत्यक्ष आफूले केही नपाउने भन्दै उनीहरुले बाख्रापालन सुरु गरेका हुन् ।

माडी नगरपालिका–६ स्याउलीवासमा स्थानीय नेत्रप्रसाद काफ्ले र चेतनारायण तिवारीले एक वर्ष अघिबाट बाख्रापालन शुरु गरेको हो । सशस्त्र द्वन्द्वमा लागेका गोलीका छर्रा काफ्लेको खुट्टामा अझै छ भने तिवारीले बाँदरमुढे घटनामा श्रीमती, छोरा र भाउजू गुमाएको थियो ।

द्वन्द्वमा राज्य पक्ष र विद्रोहीबाट पीडा खेपेका समाजलाई नयाँ सन्देश दिनका लागि पनि यो व्यवसाय सुरु गर्नुभएको हो । करीब चार बिघा जग्गा भाडामा लिएर उहाँहरुले बाख्रापालन सुरु गरेको हो । खोरमा यतिबेला विभिन्न जातका ११५ वटा बाख्रा रहेका छन् भने बारीमा घाँस लगाइएको छ । काफ्लेका अनुसार उन्नत जातको बयर र स्थानीय जात जमुनापारिसँगै खरी जातका बाख्रापालन गरिएको छ । बारीमा अहिले थाइल्याण्डबाट ल्याइएको सुपर नेपियर नामक घाँस लगाइएको छ । जसमा बाख्रालाई आवश्यक पर्ने पौष्टिक तत्व बढी हुने काफ्लेले जानकारी दिए ।

तिवारीका अनुसार करीब रु ४५ लाखको लागतमा बाख्रापालन व्यवसाय सुरु गरिएको हो । उन्नतजातका पाठापाठी उत्पादन गरी किसानको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ यो व्यवसाय शुरु गरिएको तिवारीले बताउनुभयो । शुभारम्भ एग्रोफर्मको नामबाट अहिले व्यावसायिक बाख्रा फार्म सञ्चालनमा रहेको छ । फार्ममा बोयरबाट शुद्ध बोयर र स्थानीय जातसँग क्रस गराएर पाठापाठी उत्पादनको काम पनि भइरहेको छ ।

फार्मले सञ्चालनको पहिलो वर्षमानै नगरपालिकाबाट उत्कृष्ट बाख्रा फार्मको रुपमा सम्मानसमेत पाइसकेको छ । जहाँ अहिले दैनिक चार जनाले रोजगार पाइरहेका छन् भने अब बिक्री वितरणका लागि बाख्रा तयार भएका छन् । दुवै जना द्वन्द्वबाट पीडित भएका कारण अब व्यवसाय गरेर जीवनस्तर उकास्नु पर्छ भनेर व्यवसाय शुरु गरेको काफ्लेले बताउनुभयो । द्वन्द्वकालमा लागेको गोलीका छर्रा बोकी रहेका काफ्लेले अहिले दलहरुबीचको असमझदारी देखेर दिक्क लागेपछि जीविकोपार्जनका लागि व्यवसाय सुरु गरेको गुनासो गरे । परिवार गुमाएका तिवारीले पनि मन भुलाउनका लागि काम थालेको बताए ।
आफूहरु दुवै यसमा रमाएको काफ्लेको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार