कानुन निर्माण तीव्र गतिमा हुँदैछ:मन्त्री नायक

0 Shares

काठमाडौँ, १३ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने ऐन र कानुनहरु तीव्र गतिमा निर्माण भइरहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार गरेको साक्षात्कारमा उनले सरकारको मुख्य काम संविधान कार्यान्वयन भएकाले कानुन निर्माणलाई तीव्रता दिएको बताए ।

मन्त्री नायकले प्राथमिकताका आधारमा अहिले ऐन र कानुनहरु निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन गइसकेको र सोही मुताबिक छिटो निर्माण हुनेमा आफू विश्वस्त रहेको बताए ।

संविधान कार्यान्वयन हुँदैन कि भनेर कुनै शङ्का/उपशङ्का नगरी ढुक्क हुन आग्रह गर्दै उहाँले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानुनहरु असोज ३ गतेभित्रै निर्माण गर्न आफूले निर्देशन दिइसकेको स्पष्ट पारे ।

मन्त्री नायकले भाषा आयोग, उच्च अदालत गठन, न्याय परिषद्, न्याय सेवा गठनलगायत क्षेत्रहरुसँग सम्बन्धित कानुनको निर्माण पनि छिट्टै गरिने जानकारी दिए ।

उनले स्थानीय निकायको निर्वाचनसम्बन्धी बनेको विधेयक संशोधन गरेर गृहमन्त्रालयमा पेस भइसकेको र तीनवटै निकायको निर्वाचन संविधानले निर्दिष्ट गरेबमोजिम आगामी २०७४ माघ ७ गतेभित्रै सम्पन्न गर्न तयारी भइरहेको जानकारी दिए ।

उनले असन्तुष्टहरुको माग सम्बोधन गर्न सरकारले छिट्टै संशोधन प्रस्तावअघि बढाउने पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार