अदुवाको भाउ बढेपछि किसानमा उत्साह

0 Shares

इलाम । विगतका वर्षभन्दा यसपटक अदुवाको भाउ बढेपछि किसानमा उत्साह थपिएको छ । गत वर्षभन्दा चारगुणा बढी भाउ आएपछि किसानले यो वर्ष अदुवाबाट राम्रै मूल्य हात पर्ने भएपछि किसानमा उत्साह थपिएको हो ।

भारतीय अवरोध, सङ्क्रमण र मौसमी समस्याले विगतका वर्षमा लगायत अनुसारको मूल्य नपाएका किसानले यसपटक भने उचित मूल्य पाउने भएका छन् ।

अदुवाको बिक्रीबाट प्राप्त हुने रकमले नै दशैँ मनाउने सुरसारमा किसान रहेका छन् । “दशैँअघि नै अदुवा थन्क्याउने सुरसारमा छौँ । यो पटक भाउ राम्रो आएकाले आम्दानी राम्रै हुने आशमा छु”, इलाम नगरपालिकास्थित ओख्रेका किसान चन्द्र घिमिरेले भने। गत वर्ष १० मन ९एक मनको ४० किलो० अदुवा रोप्नुभएका घिमिरेले यसपटक पाँच मन मात्र रोपेको थियो । अदुवाको भाउ आएको थाहा पाएपछि भने कम रोपेकामा पछुतोसमेत भएको घिमिरेको भनाइ छ ।

भारतीय समस्या र सङ्क्रमण नभएकाले यसपटक अदुवाको मूल्य उच्च भएको व्यवसायीको भनाइ छ । भारतीय नाकामा महीनौँ थन्क्याउनुपर्ने समस्याले गर्दासमेत अदुवा किन्न डराउनुपर्ने स्थिति विगतका वर्षमा थियो । तर यो वर्ष भने भारतीय बजारमा पनि अदुवाको माग उच्च रहेको व्यवसायी कृष्ण पौडेलको भनाइ छ ।

“भारतीय अवरोध र रोगका कारण विगतका वर्षमा भारतीय बजारमा नेपाली अदुवाको माग थिएन”, पौडेलले भने, “यसपटक भने किसानले राम्रै मूल्य पाउने भएका छन् । यो भाउ गत वर्षकोभन्दा तीनगुणा बढी हुन्छ ।” तर अदुवाको उत्पादन भने गत वर्षभन्दा आधा कम भएको उहाँको भनाइ छ ।

अदुवाबाट मसला, सुठो, सेन्ट, जाम, क्यान्डी, स्याम्पुलगायत बनाउन सकिन्छ । प्रदेश नं १ का १४ जिल्लामध्ये पाँचथर, इलाम, तेह्रथुम, ताप्लेजुङ, धनकुटामा व्यावसायिक अदुवाखेती हुने गरेको छ । इलाममा तीन हजार २३३ हेक्टरमा अदुवाखेती भएर ४५ हजार ९९४ टन उत्पादन हुने गरेको छ ।

नेपालका २६ जिल्लामा अदुवाखेती हुँदै आएको छ । चीन र भारतपछि विश्वका अदुवा उत्पादक देशमा नेपाल तेस्रो स्थानमा रहेको जिन्जर प्रोफाइल २०१६ मा उल्लेख छ । नेपालमा उत्पादन हुने अदुवामध्ये ९४ प्रतिशत भारतमा निकासी हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार