करिब १५ अर्ब बढी रेमिट्यान्स दसैमा भित्रिन्छ, वैदेशिक रोजगारीमा रहेकालाई दसैखर्च पठाउन दबाव

21 Shares

काठमाडौं । दसैं आउन लाग्दा वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरुमा पनि आर्थिक दवाब बढ्न थाल्छ । उनीहरुले नेपालमा आफ्नो घर–परिवारलाई जसरी पनि खर्च पठाउनैपर्ने समय हो । रोजगारीका सिलसिलामा लाखौं युवाहरु विदेशमा छन् । उनीहरुमध्ये केही छुट्टी लिएर दसै मनाउन नेपाल आउँछन् । तर, अधिकांश विदेशी भूमिमै परिवार सम्झेर बस्न बाध्य छन् । आफूले दसै मनाउन नपाए पनि नेपालमा परिवारलाई दसैं खर्च पठाउने दायित्व उनीहरुको काँधमा हुन्छ ।

मलेसियाको एक होटलमा काम गर्दै आएका चितवनका राकेश रिजालले भर्खरै दसैका लागि घरमा खर्च पठाए । घरको दुःख हटाउने सपना बोकेर विदेश भासिएका उनलाई जसोतसो जोरजाम गरेर पैसा पठाउन सकिएकोमा आत्मन्तुष्टि मिलेको छ ।

‘घरमा ऊ बेला दसै मान्न खर्च नभएर बुवाआमा छट्पटिएको देख्दा पिरोलिन्थेँ,’ फेसबुक म्यासेन्जरमा उनले भने, ‘अहिले आफूले दसै मान्न नपाए पनि परिवारले मनाएको तस्वीरहरु हेरेर चित्त बुझाउँछु भने ।’

विगतमा निम्न आयका नेपालीहरुले दसै खर्चका लागि स्थानीय साहु महाजनकहाँ हात पसार्नुपथ्र्यो । यसरी साहुसँग चर्को ब्याजमा लिएको ऋणले दसै मनाउने क्रम वैदेशिक रोजगारीले घटाइदिएको छ । विदेशबाट आउने रेमिट्यान्सले धेरै परिवारको दसै उक्सिन्छ । त्यही भएर हरेक वर्ष दसैमा रेमिट्यान्स आप्रवाह बढेको हुन्छ ।

गत आर्थिक वर्ष ०७५र७६ मा ८ खर्ब ७९ अर्ब २७ करोड रेमिट्यान्स नेपाल भित्रियो । यसअनुसार महिनामा औसत ७३।२५ अर्ब रमिट्यान्स नेपाल आउने गरेको देखिन्छ । तर, गत वर्ष असोज महिनामा मात्रै झण्डै ८९ अर्ब रेमिट्यान्स भित्रिएको थियो । अर्थात्, सामान्यभन्दा करिब १५ अर्ब बढी रेमिट्यान्स दसैको सिजनमा भित्रिन्छ ।

चाडबाडको मुख्य सिजन असोज, कात्तिक र मंसिरमा मात्रै २२ प्रतिशत रेमिट्यान्स आउँछ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ८।६ प्रतिशतले बढेको थियो । दसै तिहारको सिजन असोज र कात्तिकमा मात्रै १ खर्ब ५८ अर्ब रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यो नियमित रेमिट्यान्स आप्रवाहभन्दा उच्च हो ।

यो समयमा रेमिट्यान्स बढी आउने भएकाले आफ्नै कम्पनीमार्फत ल्याउन रेमिट कम्पनीले पनि अफरहरु ल्याउने छन् । दसैमा आईएमई, सिटी एक्सप्रेस मनी ट्रान्सफर, प्रुभ मनी ट्रान्सफरलगायतले अफरहरु ल्याएका छन् । पैसा पठाउँदा विभिन्न आकर्षक उपहार र बम्पर उपहारहरु अफर गरिएको छ ।

सरकारी तथ्यांकहरुलाई आधार मान्दा पनि गाउँघर र सहर बजारका धेरै घरधुरीबाट विदेशमा काम वा अध्ययनका लागि पुगेका छन् । विदेशमा हुनेले जोगाएर होस् या साथीभाइसँग ऋण मागेर भए पनि घरमा दसै खर्च पठाउने गर्छन् । त्यसैले परिवारले खुलेर दसै मनाउन सक्छन् ।

अर्थविदहरुको भनाइमा दसै खर्चालु चाड हो । नयाँ कपडा किन्ने, मीठो मसिनो खाने र घरपरिवारसँग बसेर रमाउने मौका भएकाले पनि दसै आर्थिक हिसावले महँगो पर्व मानिन्छ । उपभोगमा आधारित दसै पर्वमा खानपिन र रमााइलो मात्रै हैन, कोसेली किनमेल, यात्रा र दान–दक्षिणा तथा पूजा–आजामा पनि उत्तिकै खर्च हुन्छ । यो महँगो पर्वलाई सजिलो गरी मनाउन सकिने अवस्था विदेशमा पुगेका युवाले सिर्जना गरेका छन् ।

‘कुनै बेला मासुभात खान दसै नै पर्खिनुपथ्र्यो, नयाँ कपडा किन्न दसै नै कुर्नुपथ्र्यो, यो अवस्था रेमिट्यान्सकै बलमा अन्त्य हुने चरणमा छ,’ अर्थविद तथा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘अब दसैं हिजोभन्दा झन् महंगो हुन थालेको छ ।’

उनी थप्छन्, ‘गाउँघरका करेसामा खुर्सानी पनि फलाइँदैन, मासु मात्रै हैन साग पनि बजारबाटै किनिन्छ । सकेसम्म पाकिस्तानी बासमती चामल खाएर दसै मनाउने प्रचलन बस्न लागिसक्यो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार