जे माग्यो त्यो पूरागर्ने तङ्जो महाकाल (तङ्चो–ला) को वार्षिक विशेष पूजा असोज १६ गते

मुढे । सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गाउँपालिका वडा नं.१,ठूलो धादिङ्ग अवस्थित तङ्जो महाकाल (तङ्चो–ला) को वर्षमा एकपटक विशेष पूजा गर्ने चलन छ । सो धार्मिक स्थल तङजोला वा ताङजो आखिमामको श्रद्धालु भक्तजनहरुले श्रदा,भक्तिभाव,आस्था र विश्वासका साथ सदियौं देखि मान्ने पुज्ने गरेका छन् । सो तङ्जो महाकाला (तङ्चो–ला) थानमा आइ पूजाका साथै मनमा लागेका जुन सुकै कुरा मागेमा पुराई दिने भक्तजनमा विश्वस छ ।
जे मागे त्यो पूरा गर्ने विश्वस ।
सो धार्मिक स्थल तङजो महाकाल थानमा भक्तजनहरुले भाकल गरी, मनमा जे चिताएको छ त्यो मागे अवश्य पूरा हने जनविश्वस छ, यहाँकै स्थानीयवासी, राजनीतिज्ञ पूर्व गा.वि.स अध्यक्ष सूर्य लामाले वि.स २५६ सालको स्थानीय निर्वाचनमा यही तङजो महाकालमा भाकल गरी चुनाव लडेको सो चुनाव आफैले जितेको कुरा बताए । त्यस्तै काठमाण्डौ बौद्ध निवासी कुमारी लामा, छोरीको अमेरिका भिसाको लागि धेरैपटक कोसिस गरेको तर सफल भएन अन्तमा त्यही तङजो महाकालमा आएर पूजा गरी भाकल गरेको सोही महिना भिसा लागेकी बताइन् ।
अन्य समयमा पनि भक्तजनहरुको लागि पूजा अर्चना गर्न खुला रहेतापनि, वर्षमा एकपटक विशेष वार्षिक पूजा गर्नुपर्नु पर्ने धार्मिक मान्यता रहेको,पूजारी सन्तबीर तामाङ्गले बताए । सो तङजो महाकाल थानमा पूजा गरी आफूले चिताएको जुन सुकै कुरा किन नहोस, त्यो अवश्य पूरा हुने जनविश्वस छ । त्यसैले हजारौ भक्तजनहरुले वर्षमा गरिने विशेष पूजामा आएर विभिन्न भाकल गर्ने र भाकल गरेको वस्तुहरु चढाउने गर्छन् । सो विशेष पुजामा टाढा–टाढाबाट भक्तजनहरु दर्शनका निम्ति आउने गर्छन् ।

दसैको घटस्थापना औसींको दिन गएसँगै विशेष विधिपुर्वक तङ्जो महाकाल (तङ्चो–ला) को पुजा अर्चना गर्ने प्रचलन छ । सो पुजा गर्दा विहिबारको दिन नै पार्नु पर्ने परम्परागत धार्मिक मान्यता छ । धार्मिक मान्यता अनुसार यसपटकको तङजोला महाकाल विशेष पुजा कार्यक्रम असोज १६ गते गर्ने तय गरिएको तङजो महाकाल धार्मिक तीर्थस्थल संरक्षण समितिका अध्यक्ष तीर्थ लामा तामाङ्गले बताए ।

सो  भक्तजनहरुले तङजो महाकालमा चढाउने वस्तुहरु
सो विशेष पूजामा भक्तजनहरुले सेतो वस्तु जस्तै सेतो कपडा, सेतोपूmल, दुध, धूप,तामा र सुनको त्रिशुल चढाउने प्रचलन छ । अन्य दिन भन्दा वार्षिक पूजाको दिन भक्तजनहरुको धेरै भीड लाग्ने गर्दछ । आस्था, विश्वास र शक्तिका दृष्टिले धेरै शक्तिशाली मानिएको छ ।
तङ्जो महाकाल (तङ्चो–ला) को पूजा गरेमा मनले चिताएको पुरा हुन्छ भन्ने जनविश्वास छ ।

सो धार्मिक स्थलमा पुजा गर्न भक्तजनहरु विभिन्न जिल्ला जस्तैः– सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली,रामेछाप,दोलखा, सर्लाही, हेटौंडा,काठमाडौं लगायत देश–विदेशबाट समेत आउने गर्छन् । सो तङ्जो महाकाल (तङ्चो–ला) थान भौगोलिक वनावट अनुसार उच्च डाँडा र भिरालो ठाउँमा रहेकोले पूजा गर्न भक्तजनहरुलाई कठिनाइ छ । सो तङ्जो महाकाल (तङ्चो–ला) थानमा भक्तजनहरुको समस्यलाई मध्यनजर गरी, खानेपानी, बिजुली बत्ती, शौचालय जस्ता पूर्वाधारको निर्माण गरिएको छ, सो निर्मित संरचनाले गर्दा विगतका भन्दा भक्तजनहरुलाई सहज हुने अध्यक्ष लामाले बताए । सो संरचना निर्माणमा गाउँपालिकाद्धारा केही बजेट विनियोजन भएको थियो । केही रकम विभिन्न धार्मिक आस्था राख्ने भक्तजनहरुको सहयोगमा निर्माण भएको वडा.न.१. का वडा अध्यक्ष पासाङ्ग लामाले बताए ।
तङजो महाकाल धार्मिक तीर्थस्थल
सो तङजो महाकाल धार्मिक तीर्थल, चार जिल्लाको सीमाना जस्तैः सिन्धुपाल्चोक,रामेछाप, दोलखा र काभ्रेको संगम स्थलमा पर्छ । सो धार्मिक तीर्थस्थल, प्राकृतिक छटाहले भरिपूर्ण छ । सो तङ्जो महाकाल (तङ्चो–ला) को पूजा गर्न जाँदा म्राब्सोङघाल भएर जानुपर्ने भन्ने धार्मिक मान्यता छ ।
सो धार्मिक स्थलको प्रचारप्रसार, संरक्षण र प्रवद्धन गर्न सकिएमा आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनमा वृद्धि भई स्थानीयवासी र यस क्षेत्रको आर्थिक विकासमा ठूलो टेवा पुग्ने सम्भावना छ । २०७४ सालदेखि तङ्जो महाकाल (तङ्चो–ला) धार्मिक तीर्थस्थल संरक्षण समिति गठन भएपछि, यस परिषरमा भौतिक संरचनाहरुको निर्माण कार्य भएको छ । खानेपानीको व्यवस्था, विद्युतिकरण र गोरेटो बाटो निर्माण गरिएको कुरा समितिका अध्यक्ष तीर्थ लामा तामाङले बताए ।

सो तङ्जो महाकाल (तङ्चो–ला) वरिपरि ऐतिहासिक मठमन्दिर, पूरातात्विक सम्पदाहरु रहेको छ । सो थानको तल्लो स्थानमा धुपछुवा गुफा र प्राचिन बौद्ध धर्म सम्बन्धी कलाकृति, बौद्धलिपीहरु अझै पनि पाईन्छ । उत्तर पूर्वमा पोलदोङ गुफा र महादेव थान छ । सो गुफा पहाडको चट्टानको बीचबाट छिर्नु पर्ने हुनाले प्रवेशद्वारमा छिर्न गाह्रो हुने भएतापनि गुफा भित्र छिरेपछि खुल्ला ठाउँ र आनन्दमय अनुभूत गराउने प्राकृतिक बनावट छ । स्थानीय भक्तजनहरुका अनुसार पापी मान्छे यो द्वारमा छिर्न सक्दैनन् । यस धार्मिक तीर्थस्थल वरिपरि रहेका ऐतिहासिक, पौराणिक, पुरातात्विक जस्ता महत्वपूर्ण सम्पदाहरुको संरक्षण प्रवद्धन गर्न आवश्यक छ । यसका लागि सम्बन्धित निकाय, संरक्षण समिति, स्थानीय जनसमुदायले ध्यान केन्द्रित गर्न जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार