देशले विकल्प खोजिराखेको छ : नेता पौडेल

455 Shares

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रले विकल्प खोजिरहेको बताएका छन् । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले दशैँ तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा देशले सरकारको विकल्प खोजिरहेको बताएका हुन् ।


‘अहिलेको सरकारले देश चलाउन सकेन, सरकार चलाउने ढंग पुगेन’ नेता पौडेलले भने, ‘कम्युनिष्टले सकार चलाउने मेसो पाएन, कुहिराको काग जस्तै भएको छ ।’
त्यस्तै नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले विश्वबाटनै लोप हुँदै गइरहेको कम्युनिष्टहरु नेपालमा दुई तिहाईको दम्भ देखाइरहेको बताए । महामन्त्री कोइरालाले कम्युनिष्टहरुलाई प्रश्न सोध्धै भने, ‘दैनिक जीवनमा प्रभाव पार्ने कुनै ठोस काम गर्नु भएको छ ?’
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले प्रदेश नं. १ को नाम सगरमाथा राख्नु पर्ने बताए । ‘प्रदेश १ को नाम सगरमाथा हो भनेर राख्न र भन्न नसक्ने जनप्रतिनिधीहरु कायर हुन्’ केसीले भने, ‘सोलुखुम्बुमा नेपाली कांग्रेसले चुनाव हारेको छैन, प्राविधिक रुपमा मात्र चुनाव हारेको हो । नेपाली कांग्रेसका विद्रोही उमेदवारहरुले मात्र चुनाव हराएका हुन् ।’
नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले सम्पर्क समितिले पार्टीको काम गाउँगाउँसम्म गएर विभिन्न किसिमका कार्यक्रम गर्ने बताए । ‘अब हामी विभिन्न कार्यक्रमहरु लिएर गाउँगाउँ जानेछौं, जनताको पीर, मार्का बुझ्ने प्रयास गर्नेछौं’ सभापति बस्नेतले भने, ‘हामी बोलेर होइन काम गरेर देखाउँछौं, नेपाली कांग्रेस पार्टीको लागि गर्व गर्न लायक कामहरु गर्ने क्रमागत योजनामा हामी लागि परेका छौं ।’


कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशसिं कार्की, नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेत, नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका कोषाध्यक्ष नविन कार्की लगायतले मन्तव्य राखेका थिए । नेपाली कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले २०७६ सालको विजय दशमी, शुभ दिपावली, नेपाल सम्वत एवं छठको अवसरमा बृहत चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रम गरेको थियो । सुकेधारास्थित मिराकल पार्टीप्यालेसमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता तथा महामन्त्री डा. शशाङ्क कोइरालाको विशेष आतिथ्यता रहेको सम्पर्क समितिका सभापति बस्नेतले बताए । कार्यक्रममा ४ सय भन्दा बढिको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार