सोलुखुम्बु काठमाडौं पत्रकार कोष स्थापना, ५० हजार सहयोग गर्ने समाजसेवी बास्तोलाको घोषणा

सहयोग गर्ने सांसद राई र बस्नेतको प्रतिबद्धता

काठमाडौं । सोलुखुम्बु काठमाडौं पत्रकार समाजले पत्रकारहरुको लागि कोष स्थापना गरेको छ । मंगलबार कपनस्थित एसियन हेरिटेज इन विस्त्रोमा समाजद्धारा आयोजित दशैं तथा तिहाको शुभकामना आदनप्रदान कार्यक्रमबीच कोष स्थापना गर्ने घोषणा गरिएको हो ।
उक्त कोष स्थापनार्थ ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का निवर्तमान उपाध्यक्षमेत रहनुभएका सफल पर्यटन व्यवसायी तथा समाजसेवी निलहरी बास्तोलाले ५० हजार सहयोग गर्ने घोषणासमेत गर्नुभएको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै सोलुखुम्बु जिल्लाबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य तथा संघीय अर्थ समिति सदस्य हेमकुमार राई (सुरवीर)ले ‘सोलुखुम्बु–काठमाडौं पत्रकार समाज’लाई आफ्नो ठाउँबाट सबैखाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । सूचना र प्रविधिको विकास र विस्तारसँगै पत्रकारिताको नाउँमा पछिल्लो समय गलत प्रबृत्ति हाबी हुँदै गएको भन्दै उहाँले त्यसबाट माथि उठेर सत्य तथ्य र निश्पक्ष पत्रकारितामा लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
समाजलाई कस्तो बनाउने भन्ने कुरा मिडियाको हातमा रहेको उल्लेख गर्दै उहाँले त्यसको संवेदनशिलतालाई ख्यालमा राखेर पत्रकारिता गर्न आग्रहसमेत गर्नुभयो । ‘आजको सूचना र प्रविधिको युगमा मानिसको जीवन मिडियाबिना अपूर्ण छ’ उहाँले भन्नुभयो ‘विगे्रको समाजलाई बदल्ने कि कतातिर लैजाने भन्ने कुरामा पत्रकारिताले ठूलो भूमिका खेल्न सक्दछ । यो संवेदनशिलतालाई आत्मसाथ गरेर उत्साह र आत्मबलका साथ लाग्नको लागि म आग्रह गर्छु ।’
प्रदेश सभा सदस्य उत्तमकुमार बस्नेतले सोलुखुम्बुको इतिहासलाई फर्केर हेर्दा विषयगत अध्ययन गरेर भन्दा पनि समाज परिवर्तन गर्नुपर्छ भनेर हिडेका अभियन्ताहरुबाट पत्रकारिताको सुरुवात भएको चर्चा गर्नुभयो । मोफसलमा रहेर काम गर्नुको पिडा पोख्दै सांसद बस्नेतले पत्रकारले तथ्यांकमा आधारित समाचार सम्पे्रशन सकेको खण्डमा जनप्रतिनिधिहरुमाथि परिणाममूखी काम गर्न दबाव पुग्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।


सफल पर्यटन व्यवसायी निलहरी बास्तोलाले गुणस्तरीय पत्रकारिता अहिलेको आवश्यकता रहेको बताउँदै त्यसनिम्ति अब समाजमार्फत क्षमता अभिबृद्धि तालिमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । प्रचारबाजीमा भन्दा पनि कन्टेन बेसमा रहेर सत्य र तथ्यको गहिराईसम्म पुग्न सकेमात्रै सच्चा पत्रकारिता हुनो भनाइ उहाँको थियो ।
अहिले सबै चिज डिजिटलाइज भइरहेको बेला पत्रकारिता त्यसभित्र छिर्न सक्नुपर्नेमा जोड दिदै उहाँले यी आवश्यकताहरुलाई पूरा गर्नका लागि समाजले ठोस योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।


समाजका अध्यक्ष प्रकाश खालिङले पत्रकारहरुको हक अधिकारसँगै क्षमता अभिबृद्धि तथा समाजमा रहेका समस्याहरुको समाधान र चुनौतिहरुको सामुहिक रुपमा सामना गर्नका लागि समाजको स्थापना गरिएको बताउँनुभयो । उहाँले आफ्नो मन्तव्यकै क्रममा सोलुखुम्बुबाट काठमाडौं आएर पत्रकारिता क्षेत्रमा आबद्ध सबै पत्रकारहरुको लागि कोष स्थापना गर्ने घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा सोलुखुम्बुबाट काठमाडौं आई क्रियाशिल पत्रकारितामा लागिरहेका पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । शिखरपोष्ट डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार