५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

पृथ्वी नारायण शाहकालीन सेना र हतियार गोरखा दरबारमा राखियो


१७ आश्विन २०७६, शुक्रबार  

42
Shares

गोरखा । कालो दौरा सुरुवाल । कम्मरमा खुकुरी । टाउकोमा चाँदतोडा । हातमा भरुवा बन्दुक । पृथ्वी नारायण शाह कालीने हतियार र पोशाकसहित नेपाली सेना गोरखा दरबारमा बस्न थालेका छन् ।

नेपाली सेनाको रणसिंह दल गणको पहलमा शार्दुल जंग गुल्म हनुमानढोकाको टुकुडी ल्याइएको छ ।

मन्दिरको दायाँबायाँ शाह कालीन पोशाक र हतियारसहित उनीहरु बस्छन् । विहान ६ बजेदेखि साँझ ६ बजेसम्म उनीहरु दरबारमा रहनेछन् 

Sagarmatha

दरबार आउने भक्तजन तथा पर्यटकले उनीहरुसँग फोटो खिच्न पाउने व्यवस्था गरिएको छ ।

दरबारको सुरक्षासँगै पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले सेना राखिएको रणसिंह दल गणका गणपती उज्वल केसीले बताए ।

‘पृथ्वी नारायण शाहको पालामा सेनाले लगाउने पोशाक यही थियो,’ उनले भने, ‘त्यही पोशाकमा सेना राख्दा यहाँ आउने पर्यटकलाई नेपाल एकीकरणको इतिहास बुझ्न सजिलो हुन्छ भन्ने अपेक्षा गरेका छौ ।’ पर्यटन प्रवर्द्धनमा पनि सघाउ पुग्ने उनले बताए ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई पनि लक्षित गरिएको उनको भनाइ छ । ‘काठमाडौंको हनुमानढोकामा पहिलेदेखि यही पोशाकमा सेना छन्, आज बाट गोरखा दरबारमा पनि सुरु भयो,’ उनले भने ।

इतिहासको संरक्षण र सम्बर्द्धनमा सहयोग पुग्ने गोरखा दरबार हेरचाह अड्डाका रामेश्वर कट्टेल बताउँछन् । ‘नेपाल एकीकरणको क्रममा सेनाको बहादुरीले वीर गोर्खाली भनेर देश विदेशमा चिनायो, त्यही पोशाकमा सेना बस्छन्,’ उनले भने, ‘पहिले इतिहास थियो अब सँगै फोटो पनि खिच्न पाउने भएपछि पर्यटकको संख्या बढ्छ भन्ने अनुमान गरेका छौ ।’

२०७५ साल मंसिर महिनाबाट नेपाली सेना गोरखा दरबारबाट हटाइएको थियो । तर मन्दिर क्षेत्रको संरक्षण र सम्बर्द्धनका लागि स्थानीयले सेनाको माग गरेका थिए । शुक्रबारबाटै दरबार परिसरमा रहेको फूलबारी व्यारेकमा सेना पनि बस्न थालेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ८ : २५ बजे