रसुवा, २ कात्तिक । भूकम्पपछिको आवास पुनःनिर्माण अन्तर्गत पाउने सेवा सुविधा सरकारी तवरबाटै हुनुपर्ने यहाँका बासिन्दाको माग छ ।
दक्षिणी रसुवाको यार्सा गाविस–७ नागरिक मञ्चका अध्यक्ष रामकाजी विकका अनुसार यार्सा गाविस–७ लाङ्वु गाउँका १७१ घरधुरी मध्ये २० घरधुरीको आवास निर्माणका लागि जिम्मेवारी लिएको बतास नामक गैससले टालटुले काम मात्र गर्न खोजेकाले त्यस्तो संस्थालाई जिम्मेवारी नदिइ सरकारी स्तरबाटै काम सम्पन्न गर्न गाउँवासीले माग गरेका हुन् ।
उक्त गैससले सरकारी मापदण्ड विपरीत एकाघरका परिवार समेत नअट्ने १४ फिट लम्बाइ, नौ फिट चौडाइको आवास मात्र बनाउन खाजेको र त्यो ढाँचाकोे आवासले जीवननिर्वाह नहुने स्थानीय समाजसेवी छेसाङ दावा तामाङले बताउनुभयो ।
बाख्राको खोरजस्तो आवास बनाइदिन खोजेको र गाउँका प्रतिनिधिसंग पनि त्यस्तै कुरा दाता संस्थाले गरेकाले भूकम्पपीडित जनतामा ख्यालख्यालको काम नगर्न स्थानीय बासिन्दाले आग्रह समेत गरेका छन् ।

सो संस्थालाई राम्चे इलाका क्षेत्रबाट स्थानीय बासिन्दाले यसअघि नै लखेटेका थिए । रासस






