मन्त्रालय नयाँ हवाईनीतिको तयारीमा

14 Shares

काठमाडौं । सरकारले नयाँ हवाई नीति बनाउने प्रक्रिया थालेको छ । हवाई यातायातको क्षेत्रमा विश्वव्यापी रुपमा ग्रहण गरिएको प्रविधि र सार्क मुलुकमा रहेको व्यवस्थालाई समटेर नयाँ नीति निर्माण गरिने मन्त्रालयले बताएको छ ।

नयाँ नीतिको मस्यौदा बनाउन मन्त्रालयले विज्ञहरुको एक टोली समेटेर कार्यदल गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २९ असोजको निर्णयानुसार कार्यदल गठन गरिएको मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकालले जानकारी दिए ।

पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा कार्यदल गठन गरिएको हो । कार्यदलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमन, नेपाल वायुसेवा निगमका पूर्वउपमहाप्रवन्धक राजु केसी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवानन्द उपाध्याय, वायुसेवा सञ्चालक संघबाट सुमन पाण्डे र वरिष्ठ पाइलट दधिराम निरौलालाई सदस्यका रुपमा तोकिएको छ ।

मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

यो कार्यदलले दुई महिनाभित्र नयाँ हवाईनीतिको मस्यौदा बनाएर मन्त्रालयमा पेस गर्ने कार्यादेश पाएको छ । कार्यदलले यस अवधिमा दुई वटा कार्यशाला गोष्ठी आयोजना गरी सरोकारवालाबाट सुझावसमेत संकलन गर्ने छ । कार्यदलको सोमबार बसेको बैठकले हवाई क्षेत्रसँग सम्बन्धित सरोकारवालाबाट नीतिमा समेट्न कुनै सुझाव भए उपलब्ध गराउन फोन नम्बर तथा इमेल ठेगानासमेत सार्वजनिक गर्ने निर्णय गरेको छ । मन्त्रालयमा आफैं उपस्थित भएर समेत सरोकारवालाले हवाई नीतिबारे सुझाव दिनसक्ने भएका छन् । नेपालमा अहिले हवाईनीति २०६३ कार्यान्वयनमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार