सम्झौता पश्चात फलफूल चीन पठाउन बाटो खुल्यो, तर उत्पादन अपर्याप्त

14 Shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालमा उत्पादन हुने अमिला फलफूल निर्यातका लागि एक सम्झौतापत्रमा हस्ताक्षर भयो । त्यसले नेपालबाट सुन्तला, जुनार, कागती, निबुवा, भोगटे जस्ता फलफूल निर्यात गर्न चिनियाँ बजार खुल्ला भएको दाबी सरकारी अधिकारीहरूले गरेका छन् ।

दुई देशबीच भएका सम्झौतामा नेपालमा उत्पादन हुने अमिला जातका फलफूलको निर्यातका लागि वनस्पति स्वास्थ्य मापदण्डमा समझदारी जुटेको उल्लेख छ । नेपाली अमिला फलफूल चिनियाँ बजारका प्रवेशको मुख्य उल्झन राष्ट्रपति भ्रमणमा फुकेको फलफूल विकास केन्द्र कीर्तिपुरका निमित्त प्रमुख हरिप्रसाद गुरुङ बताउँछन् ।

गुरुङका अनुसार, अमिला जातका फलफूल चीन निर्यात गर्ने विषयमा सन् २०१२ मा पनि सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार नेपाली पक्षले ती प्रजातिको फलफूलको उत्पादन क्षेत्र नै विषादी र किरामुक्त बनाउने भन्ने चिनियाँ क्वारेन्टाइन सर्तमा सहमति गरेका थिए ।

तर, टुक्रे खेती प्रणालीमा फलफूलको त्यस्ता बगैंचा कीरो र विषादी मुक्त बनाउन नेपालले सक्ने कुरै भएन । जसका कारण नेपाली अमिला फलफूल चिनियाँ बजारमा जान सकेनन् । सात वर्षपछि चिनसँग पुनः सोही विषयमा समझदारी बनेको छ र यसमा चीन केही लचिलो बनेको छ । यसले फलफूल उत्पादन गर्ने र व्यवसाय विस्तार गर्न चाहने कृषकलाई हौसला थपेको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले जनाएको छ ।

चीनले बगै‌ंचा नभई उत्पादित फलफूलमा कीरा र विषादी अवशेष नभएको खण्डमा निर्यात गर्न दिने सहमति जनाएको छ । त्यसैले अब नेपालबाट स्वस्थ फलफूल चीन निर्यात हुन अवरोध छैन ।

कृषि विभागका अनुसार, नेपालमा अमिला जातका फलफूलको उत्पादन सन्तोषजनक छैन । अहिले पनि बर्सेनि ठूलो परिमाणमा यस्ता उत्पादन नेपालले चीन, भारतलगायतका मुलुकबाट आयात गर्ने गरेको छ ।

नेपालमा सुन्तलाको कुल क्षेत्रफल २७ हजार १ सय ५० हेक्टर हो । यसमध्ये उत्पादनशील क्षेत्रफल १६ हजार १ सय ५५ हेक्टर मात्रै रहेको सरकारी तथ्याङ्क छ । उक्त क्षेत्रफलबाट गत वर्ष १ लाख ६१ हजार ४ सय ३४ टन सुन्तला उत्पादन भएको थियो ।

यस्तै, नेपालमा ६ हजार २ सय ७७ हेक्टरमा क्षेत्रफलमा जुनार गर्न सकिन्छ । तर जुनारको उत्पादनशील क्षेत्रफल ३ हजार ८ सय ६५ हेक्टर छ । अघिल्लो आर्थिक वर्ष ४१ हजार ५ सय ५६ टन जुनार उत्पादन भएको विभागका प्रवक्ता डा।रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी, कागती ८ हजार ८ सय ७६ हेक्टर क्षेत्रफलमा खेती गर्न सकिने भए पनि कागतीको उत्पादनशील क्षेत्रफल ४ हजार ६ सय १२ हेक्टर मात्रै छ । क्षेत्रफलबाट ३१ हजार ३ टन कागती नेपालमा उत्पादन भएको विभागको तथ्याङ्क छ ।

भन्सार विभागको तथ्यांकअनुसार, नेपालले गत आर्थिक वर्षमा भारत तथा चीनलगायतका मुलुकबाट २ अर्ब ३१ करोड रुपैयाँ बराबरको सुन्तला र कागती आयात गरेको छ । सुन्तला खरिदमा १ अर्ब १२ करोड २१ लाख ८९ हजार तथा कागतीमा ७२ करोड ५२ लाख रुपैयाँ खर्च भएको विभागको विवरणमा देखिन्छ ।

सोही आर्थिक वर्ष नेपालबाट भने ९ लाख ४८ हजार रुपैयाँको सुन्तला जातका फलफूल मुलुकबाहिर निर्यात भएको थियो ।

काठमाडौंमा अघिल्लो साता भएको समझदारी कार्यान्वयनका चुनौती र सम्भावनाबारे वाणिज्य मन्त्रालयको नेतृत्वमा बिहीबार तातोपानीमा चिनियाँ अधिकारीहरूसँग बैठक बस्दैछ । वाणिज्य मन्त्रालयका अनुसार बैठकको एक प्रमुख एजेण्डा चीन निर्यात गर्न सकिने अमिला फलफूलका मापदण्डबारे पनि तय गरिएको छ ।

भन्सार र क्वारेन्टाइन मापदण्डका कारण नेपाली उत्पादन नाकामा रोकिने अवस्था नआउन चिनियाँ र नेपाली पक्षले खेल्नुपर्ने भूमिकाबारे बैठकमा छलफल हुन लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेशकुमार भट्टराईले जानकारी दिए । नेपाली अमिला फलफूल नेपालबाट चीनतर्फ निर्यात नै नभएका कारण ढुवानीको मोडालिटी, मूल्य तथा फलफूलको ग्रेडिङ, क्वारिन्टिनको न्यूनतम मापदण्डजस्ता प्रश्नको हल खोल्न बैठक केन्द्रित हुने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार