५२ पदका लागि मतदान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

0 Shares

काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि जारी मतदान एकाध स्थानबाहेकमा शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, शनिबार बिहान साढे ११ बजेसम्म करिब २५ प्रतिशतभन्दा बढी मत खसेको छ । पोखरा र डोटीमा बम विस्फोटका घटना भए पनि मतदान प्रभावित नभएको उनले बताए ।

‘अहिलेसम्म २५ प्रतिशतभन्दा बढी मतदान भइसकेको विवरण प्राप्त भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘केही स्थानमा बम भेटिए पनि त्यसले मतदान प्रभावित भएको छैन ।’

प्रतिनिधिसभा, प्रदेश र स्थानी तहका रिक्त ५२ पदका लागि शनिबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।

अन्यत्र शान्तिपूर्ण ढंगले मतदान भइरहे पनि कास्की र डोटीमा बम फेला भेटिएको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो । मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीयले बताएका छन् । खुला स्थानमा बम खसेकाले अप्रिय घटना हुनबाट भने जोगिएको छ ।

कास्की–२ मा हस्ताक्षर नगरिएको मतपत्रले गलफती परेको छ । पोखरा महानगरपालिका–३३, बरपाण्डे थुम मतदानस्थलमा मतदान अधिकृतले हस्ताक्षर नगरिएको एउटा मतपत्र भेटिएपछि विवाद भएको हो । विवादका कारण केहीबेर मतदान स्थगित भए पनि सर्वदलीय बैठकपछि सञ्चालनमा ल्याइएको निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।

त्यस्तै, डोटीको आदर्श गाउँपालिका–२ को कुचेडा र सोही वडाको कानगडा भन्ने स्थानमा बम भेटिएको छ । आदर्श गाउँपालिका २ को निर्वाचनलाई लक्ष्य गरेर राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बम डिस्पोजपछि अहिले यहाँ शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी राजन पौडेलका अनुसार शनिबार बिहानदेखि नै भयरहित वातावरणमा मतदान सुरु भएको छ । ‘धरानमा कुनै सुरक्षा चुनौती छैन्’ उनले भने, ‘जिल्ला सुरक्षा समिति धरानमै छ ।’

सहायक निर्वाचन अधिकृत अजय मिश्रका अनुसार, ११ बजेसम्म धरानमा २० प्रतिशत मतदाताले मतदान गरिसकेका छन् ।

मोरङकोको धनपालथान गाँउपालिका–२ मा पनि शान्तिपूर्ण ढंगले मतदान भइरहेको मोरङस्थित अनलाइनखबरकर्मी ध्रुव भट्टराईले जनाएका छन् । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष बलराम भगतको सर्पको टोकाइबाट निधन भएपछि रिक्त पदपूर्तिका लागि आज त्यहाँ चुनाव भएको हो । गाँउपालिकामा रिक्त वडाध्यक्षका लागि ६ उम्मेदवार चुनावी मैदानमा छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका–१० का सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय, कपिलवस्तुका प्रमुख अयोध्यप्रसाद भण्डारीले बताएका छन् ।

०७४ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा वडाध्यक्ष पदमा विजयी शकुन्तला भारतीको आकस्मिक निधन भएपछि यहाँ चुनाव भएको हो । रिक्त वडाध्यक्ष पदका लागि सिके राउत समूहका उम्मेदवारसहित १२ चुनावी मैदानमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार