प्रधानमन्त्री ओली उपस्थित नहुने,नेकपा सचिवालय बैठक बस्दै

0 Shares

काठमाडौं । कार्यकारी अधिकारप्राप्त भएपछि पार्टी पंक्तिलाई परिचालन गर्ने पाँचमहिने कार्ययोजना बनाइरहेका नेकपा अध्यक्ष प्रचण्डले पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि सचिवालय बैठक बोलाएका छन् । अपराह्न नेकपा केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओली भने सहभागी हुने छैनन् ।

स्वास्थ्यका कारण धेरै दौडधूप गर्न नमिल्ने भएकाले ओलीको परामर्शमा प्रचण्डले बैठकको अध्यक्षता गर्न लागेको नेकपा स्रोतले जनाएको छ ।

दुवै अध्यक्षबीचको परामर्शपछि महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरुलाई एसएमएसमार्फत बैठक अपराह्न १ बजे धुम्बाराहीमा बस्ने सूचना पठाएका हुन् । कार्यकारी अधिकारसहितको अध्यक्ष भएपछि प्रचण्डले पहिलो बैठक पनि धुम्बाराहीमै राखेका थिए । त्यसबेला ओली अस्पतालमै थिए ।

नेकपा स्रोतका अनुसार, बैठकको अध्यक्षता गरे पनि प्रचण्डले एजेण्डाहरु ओलीलाई जानकारी गराएका छन् । प्रचण्डले पार्टी एकीकरणका बाँकी काम टुंग्याउँदै जनपरिचालनसहितको पाँचमहिने कार्ययोजनासमेत तयार पारेका छन् । यसबारेमा पनि उनले ओलीसहित मुख्य नेताहरुसँग छलफल गरेका छन् ।

सोमबारको बैठमा उपनिर्वाचनको समीक्षात्मक रिपोर्टमाथि छलफल हुने एजेण्डा छ । अघिल्लो सचिवालय बैठकले उपनिर्वाचन भएका सबै ठाउँबाट समीक्षा रिपोर्ट मागेको थियो ।

उपनिर्वाचनको समग्र परिणाममा आधाभन्दा बढीमा जित हासिल भए पनि केही ठाउँको पराजयको समीक्षा आवश्यक रहेको नेकपाले जनाएको छ । उपनिर्वाचन भएका ५२ स्थानमध्ये प्रतिनिधिसभा र प्रदेशसभाका एक–एक सिटसहित नेकपाले ३० ठाउँमा जित हासिल गरेको छ ।

भक्तपुरको प्रदेशसभा र धरान उपमहानगरपालिकाको पराजयलाई नेकपाले समीक्षाको विषय बनाएको छ । त्यस्तै, चितवनको भरतपुर महानगरपालिकाको वडाध्यक्षको पराजय पनि नेकपालाई अप्रत्याशित बनेको छ । त्यहाँको हारबारे समीक्षा रिपोर्ट आएको छ । समग्र नतिजा भने नेकपाकै पक्षमा रहेको नेताहरुले बताएका छन् ।

सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउनेबारेमा पनि छलफल गर्नेछ । वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सचिवालयको प्रस्ताव स्थायी कमिटी बैठक नबसेका कारण कार्यान्वयन भएको छैन ।

प्रचण्डले यसअघि माधव नेपाललगायतका नेताहरुसँग पनि परामर्श गरेका छन् । नेपालले भने पोलिटव्युरो गठन गर्न प्रचण्डलाई सुझाएका छन् । तर अर्का अध्यक्ष ओलीले पोलिटव्युरो गठनमा रुचि देखाएका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार