यस्तो बन्यो नेपालको रेलको डिब्बा

  पत्रपत्रिका
0 Shares

काठमाडौं । रेल विभागका कर्मचारीले जनकपुर–जयनगर रुटमा चलाउने रेल तयार भइसकेको बताएका छन् । ३५ किलोमिटर लामो उक्त रुटमा चलाइने भनिएको दुई वटा रेलका डिब्बा निर्माणबारे प्रगति बुझ्न नेपाली पक्ष सोमबार भारत पुगेको हो ।


भारतको चेन्नइस्थित कोंकोण रेलको कारखानामा बन्दै गरेको रेल निरीक्षणका लागि विभागका महानिर्देशक बलराम मिश्रसहितको नेपाली टोली पुगेको हो । डिजेल इञ्जिन भएको ‘डिइएमयु’ रेलमा ५ वटा डिब्बा रहने छन् । विभागले ८४ करोड ६५ लाख रूपैयाँमा भारतीय कम्पनीमार्फत रेल खरिद गर्न लागेको हो । गत वर्ष भएको सम्झौताअनुसार जनवरी मध्यसम्म भारतीय पक्षले रेल निर्माण गर्नेछ ।
यो रेल गुड्ने रेलमार्ग खासै लामो नभएकाले अहिले आउन लागेको रेलमा अत्याधुनिक सेवाहरू हुने छैनन् । विभागले जनाएअनुसार आउन लागेको रेलमा सामान्य सुविधा हुनेछ भने नेपालको झन्डामा प्रयोग भएका मुख्य रंगहरू रातो र नीलो प्रयोग गरिएको छ । ‘बनिरहेको रेलको एउटा कम्पार्टमेन्ट चाहिँ एसियुक्त राख्ने कुरा भएको छ,’ रेल इञ्जिनियर परिवेश पराजुलीले भने ।
रेल बनिसके पनि फिटिङका काम भइरहेको र सम्भवतः माघ वा फागुनतिर आइपुग्ने विभाग श्रोत बताउँछ । तर यसअघि पनि पटक–पटक रेल चलाउने मिति सर्दै आएको छ । विभागका महानिर्देशक बलराम मिश्र र प्राविधिकसहितको टोली शुक्रबारसम्म फर्किने कार्यक्रम छ ।
रेल आए पनि चलाउने जनशक्तिबारे नेपाली पक्ष अझै स्पष्ट छैन । रेल नियमावली लोकसेवा आयोगमा अड्केको छ भने रेल चलाउन आवश्यक प्राविधिक जनशक्ति भारतबाटै आउनेछ । जनशक्तिको पूर्ति तत्कालका लागि विभागका कर्मचारीबाटै गराउने तयारी छ । नयाँपत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार