२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

फरार प्रतिवादी २० वर्षपछि पक्राउ



काठमाडौँ, २ कात्तिक । लागुऔषध मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जनालाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ मनमैजु घर भई हाल नुवाकोट भद्रुटार गाविस बस्दै आएका नारायणबहादुर थापा रहेका छन ।

लागुऔषध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट २०५६ चैत ३ गते थापालाई ७ वर्ष ६ महिना कैद र रु दुई लाख ५० हजार जरिवाना ठहर भएकोमा उक्त फैसलालाई उल्टाएर पुनरावेदन अदालत पाटनले २०५९ भदौ ११ गते उहाँलाई १५ वर्ष कैद र रु पाँच लाख जरिवाना गरेको थियो ।

सर्वोच्च अदालतको २०६१ चैत ५ गतेको फैसलाले पुनरावेदन अदालतको सो फैसलालाई नै सदर गरेको थियो । उल्लेखित सजाय बेरुजु भई फरार रहेका थापालाई केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सिविआई) को टोलीले कात्तिक १ गते नुवाकोटबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज उहाँलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरेका छन् । अदालतले कैद भुक्तानका लागि थापालाई केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ ।

सरोजरत्न शाक्य लगायत भारतको रक्सौलबाट रु ८५ हजार मूल्यमा खरिद गरी नाफामा बिक्री गर्नका लागि काठमाडौँ ल्याएको चार सय ५० ग्राम खैरो हिरोइन बरामद हुँदा सोको खरिद बिक्री थापाले गर्ने गरेको खुलेको थियो । सो पश्चात् थापा काठमाडौँ र नुवाकोटमा २० वर्षदेखि लुक्दै आएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २ कार्तिक २०७३, मंगलबार  १ : ५६ बजे