प्रशासनको अनुमति बिना हेलिकोप्टरको कार्गो उडान !

  सुवास दर्नाल
0 Shares

सोलुखुम्बु । सोलुखुम्बुको विभिन्न स्थानमा नियम बिपरित कार्गो उडान हुने गरेको छ । नेपाल नागरिक उडड्यान प्राधिकरण काठमाण्डौले स्थानीय प्रशासनको प्रत्यक्ष समन्वयमा सुरक्षाको पूर्ण प्रत्याभूति भएपछि मात्रै सामग्री ढुवानी गर्न निर्देशन दिएपनि हेलिकोप्टर कम्पनीहरुले आफूखुशी उडान गरिरहेको पाइएको हो ।


खासगरी कैलाश र सिम्रिक एयरको हेलिकोप्टरले सोलुखुम्बुको विभिन्न स्थानमा कार्गो उडान गरिरहेको छ । सोलुदुधकुण्ड नगरपालिकाको टाक्सिन्दुवाट कार्गो उडान भइरहेपनि त्यसबारे आफूलाई कुनै जानकारी नभएको प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले बताए । सुरक्षा चेकजाँच नगरी आफुखुसी उडान भर्दा प्रतिबन्धित सामग्रीहरु ओसारपोसार हुन सक्ने खतरा रहने उनको भनाई छ । प्रशासनलाई समेत बेवास्ता गर्दै गरिएको उडान गैरकानुनी भएको उनको भनाई छ ।
खनालले जानकारी नै नभएको बताएपनि कैलाश एयरका म्यानेजर प्रतापजंग पाण्डेले भने प्रशासनसँगको समन्वयमा नै उडान गरिरहेको दाबी गरेका छन् । उनले उडान नियमसंगत रहेको समेत दाबी गरे । यस बारेमा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रधान कार्यालय काठमाण्डौका महानिर्देशक राजन पोखरेलले भने नागरिक उड्डयन कार्यालय फाप्लुका प्रमुख प्रकाश शर्माले भने आफुसँग कुनै समन्वय नगरेको भन्दै यस विषयमा फाप्लु विमानस्थल प्रमुख जानकार रहेको हुनसक्ने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी एवं उपमहानिर्देशक राजकुमार क्षेत्रीले भने यस्ता उडानका बारेमा ध्यानकर्षण भएको छिटै समाधानमा जाने बताए ।
सोलुखुम्बुको विभिन्न क्षेत्रलाई आधार बनाएर हेलिकप्टरले यात्रु तथा सामान ओसारपसार गरिरहेको भए पनि सुरक्षा सतर्कतालाई बेवास्ता गर्ने गरिएको नागरिक उड्डयन प्राधिकरणकै कर्मचारीहरूको भनाइ छ । सुरक्षा जाँचबिना मान्छे तथा सामान ओसारपसारमात्र होइन गम्भीर समस्या आएका हेलिकप्टरसमेत आफूखुसी उड्ने गरेका सगरमाथा क्षेत्रमा कार्यरत एक कर्मचारीले बताएका छन् ।
बिना सुरक्षा जथाभाबी उडान गर्दा दुर्घटना हुन सक्ने भन्दै जिल्लाको प्रशासनले सुरक्षा व्यवस्था गरेरमात्र उडान गर्ने निर्णय पनि गरेको छ । तर त्यो व्यवहारमा भने अझै लागू भएको छैन । हेलिकोप्टरमा प्रयोग हुने इन्धन खुल्ला ठाउँमा राख्न नपाइने व्यवस्था भएपनि टाक्सिन्दुमा भने खुल्ला ठाउँमा नै राख्ने गरिएको श्रोतको दाबी छ । यसले दुर्घटनाको जोखिम उच्च हुने बताइएको छ ।
केही समय अघि आमाडब्लम हिमालको चुचुरोमा अबैधानिक रुपमा एक सय मिटर लामो कुबेती झण्डा पुर्याइएपछि हिमाली क्षेत्रको उडान प्रति चासो बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार